२८, असोज २०८३ बुधबार
बाँके, नेपालगन्ज – नेपाली मौलिक कला, संस्कृति, परम्परागत नृत्य, भेषभूषा तथा गरगहनाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले नेपालगन्जमा ‘लुम्बिनी कल्चर डान्स आइडल–२०८३’ को कार्यशाला आयोजना हुने भएको छ।
असोज ३१ गते नेपालगन्जस्थित सुनाखरी रेस्टुरेन्टमा आयोजना हुने एकदिने कार्यशालामा अडिसनबाट छनोट भएका ४९ जना प्रतिस्पर्धी सहभागी हुने कार्यक्रम संयोजक मिलन गुरुङले जानकारी दिनुभयो। प्रतियोगिताको पहिलो अडिसनमा १११ जनाले सहभागिता जनाएका थिए।

कार्यशालामा सहभागीलाई नेपाली लोकसंस्कृति झल्काउने परम्परागत गरगहना, भेषभूषा, सांस्कृतिक प्रस्तुति तथा नृत्यका शैलीबारे प्रशिक्षण दिइनेछ। साथै, मौलिक नृत्यको प्रस्तुति प्रभावकारी बनाउने आवश्यक सीपसम्बन्धी ज्ञानसमेत प्रदान गरिने आयोजकले जनाएको छ।
कार्यशालामा बागिना कला केन्द्रका संयोजक तथा परेली सांस्कृतिक समूहका मानार्थ सदस्य युवराज गुरुङले प्रशिक्षण दिनुहुनेछ। उहाँले नेपाली मौलिक संस्कृति झल्किने नृत्यको प्रस्तुति, परम्परागत शैलीको अभ्यास तथा सांस्कृतिक पहिचानलाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने विषयमा प्रशिक्षण दिनुहुने कार्यक्रम संयोजक गुरुङले बताउनुभयो।
मिडिया ल्याबको आयोजनामा तथा बाँके कला केन्द्रको संयोजनमा सञ्चालन हुन लागेको प्रतियोगिताले प्रतिभाशाली युवालाई आफ्नो कला प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै नयाँ पुस्तामा नेपाली मौलिक कला र संस्कृतिप्रति रुचि बढाउने लक्ष्य राखेको छ।
प्रतियोगिताको फाइनल चरण छठ पर्वपछि आयोजना गरिने जनाइएको छ। कार्यशाला र आगामी चरणबाट प्रतिस्पर्धीको नृत्य तथा सांस्कृतिक प्रस्तुतिमा थप निखार आउने आयोजकको अपेक्षा छ।
आधुनिक पुस्तामाझ नेपाली मौलिक कला र संस्कृति प्रवर्द्धन गर्दै परम्परागत नृत्य, भेषभूषा, गरगहना तथा सांस्कृतिक पहिचानको संरक्षणमा योगदान पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।

