२७, असोज २०८३ मगंलवार
बाँके, नेपालगन्ज – बाँकेको खजुरा गाउँपालिका–२, सीतापुरस्थित बलैपुरकी अरुणा बुढाक्षेत्री (अनु) ले नेपाल प्रहरीको प्रहरी निरीक्षक आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गरेकी छन्। तालिम पूरा गरेसँगै उनी देश र जनताको सेवामा समर्पित हुने लक्ष्यसहित प्रहरी सेवाको नयाँ यात्रामा अघि बढेकी छन्।

बुवा तोजेन्द्र बुढाक्षेत्री र आमा निर्मला बुढाक्षेत्रीकी कान्छी छोरी अरुणाको प्रहरी निरीक्षकसम्मको यात्रा मेहनत, आत्मविश्वास, पारिवारिक प्रेरणा र सेवाभावसँग जोडिएको छ।
विद्यालयदेखि प्रहरी सेवासम्मको यात्रा
अरुणाले प्रारम्भिक शिक्षा नेपालगन्जस्थित युनाइटेड एजुकेसन एकेडेमीबाट हासिल गरेकी हुन्। अध्ययनमा अब्बल उनी विद्यालयमा साथीहरूमध्ये दोस्रो स्थान हासिल गर्ने विद्यार्थीका रूपमा परिचित थिइन्।

विद्यालय तहको अध्ययन पूरा गरेपछि उनले ब्राइटल्यान्ड कलेजबाट कक्षा १२ उत्तीर्ण गरिन्। त्यसपछि नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसबाट बीबीएस अध्ययन पूरा गरिन्।
स्नातक तहको पढाइपछि उच्च शिक्षाका लागि काठमाडौं पुगेकी अरुणाले सुरुमा बैंकिङ क्षेत्रमा भविष्य बनाउने सोच राखेकी थिइन्। त्यसका लागि उनले एमबीएस अध्ययन गर्ने योजना पनि बनाएकी थिइन्।

त्यतिबेला उनका धेरै साथीहरू लोकसेवा तयारी, चिकित्सा शिक्षा तथा विदेश जाने योजनामा अघि बढिरहेका थिए। अरुणा पनि आफ्नो भविष्यबारे विभिन्न विकल्पमा सोचिरहेकी थिइन्। तर, कुन क्षेत्रमा अघि बढ्ने भन्ने विषयमा उनी पूर्ण रूपमा निश्चित भइसकेकी थिइनन्।
बुवाको सुझावले बदलियो जीवनको बाटो
आफ्नो भविष्यबारे अन्योलमा रहेकी अरुणाले एक दिन बुवा तोजेन्द्र बुढाक्षेत्रीसँग सल्लाह मागिन्। त्यसक्रममा बुवाले दिएको सुझाव र प्रेरणाले उनको जीवनको बाटो नै बदलियो।

बुवाको प्रेरणाबाट प्रहरी सेवातर्फ आकर्षित भएकी अरुणाले प्रहरी निरीक्षक बन्ने लक्ष्यका साथ अघि बढ्ने निर्णय गरिन्। निरन्तर मेहनत, आत्मविश्वास र दृढ संकल्पका साथ तयारीमा जुटेकी उनले अन्ततः नेपाल प्रहरीको प्रहरी निरीक्षक आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गर्न सफल भइन्।
अरुणाको यो सफलता उनको व्यक्तिगत उपलब्धिमा मात्र सीमित छैन। यसले परिवारको प्रेरणा, छोरीप्रतिको विश्वास र युवापुस्ताले आफ्नो लक्ष्य प्राप्तिका लागि गर्नुपर्ने मेहनतको महत्त्वलाई समेत उजागर गरेको छ।
देश र जनताको सेवामा समर्पित हुने लक्ष्य
प्रहरी निरीक्षकको तालिम पूरा गरेसँगै अरुणा देश र जनताको सेवामा समर्पित हुने लक्ष्यसहित अघि बढेकी छन्। पारिवारिक प्रेरणाबाट सुरु भएको उनको यात्रा अब राष्ट्रसेवा र जिम्मेवारीपूर्ण प्रहरी सेवासँग जोडिएको छ।
बाँकेको खजुरा–२, बलैपुरकी अरुणाको सफलताले आफ्नो लक्ष्यप्रति प्रतिबद्ध रहने, अवसरलाई पहिचान गर्ने र निरन्तर मेहनत गर्ने हो भने जीवनमा नयाँ सम्भावनाका ढोका खोल्न सकिने सन्देश दिएको छ।

