२४, असोज २०८३ शनिबार
बाँके, नेपालगञ्ज – नेपालगञ्जको व्यस्त धम्बोझी चोकमै अज्ञात व्यक्तिले बोरा भरि फोहोर फालिदिएका छन्। शहरको प्रमुख चोकमै जथाभावी फोहोर फालिएको दृश्यले सार्वजनिक स्थानको सरसफाइ र फोहोर व्यवस्थापनमाथि प्रश्न उठाएको छ।

नेपालगञ्जको मुटु मानिने धम्बोझी चोकमा फालिएको फोहोरले शहरको स्वच्छता र सौन्दर्यमा असर पार्ने देखिन्छ। सार्वजनिक स्थानलाई फोहोर फाल्ने ठाउँका रूपमा प्रयोग गर्ने प्रवृत्तिले सरसफाइ व्यवस्थापनमा चुनौती थपेको छ।
यसअघि पनि नेपालगञ्ज उपमहानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी फोहोर फाल्ने विभिन्न व्यापारिक प्रतिष्ठानलाई जरिवाना गर्नुका साथै कारबाही गरेको थियो। तर, कारबाही र सचेतनामूलक अभियान सञ्चालन हुँदासमेत निरन्तर निगरानीको अभावमा सार्वजनिक स्थानमा फोहोर फाल्ने प्रवृत्ति रोकिएको छैन।
धम्बोझी चोकमा फालिएको फोहोर तत्काल हटाउन, फोहोर फाल्ने व्यक्तिको पहिचान गर्न सम्भव भए आवश्यक कारबाही अघि बढाउन र यस्ता गतिविधि दोहोरिन नदिन नेपालगञ्ज उपमहानगरपालिका तथा नगर प्रहरीको ध्यानाकर्षण हुन आवश्यक छ।

शहर सफा राख्ने जिम्मेवारी स्थानीय सरकारको मात्र नभई प्रत्येक नागरिकको पनि हो। घर, पसल तथा अन्य स्थानबाट निस्कने फोहोर जथाभावी सार्वजनिक स्थानमा फाल्नुको सट्टा निर्धारित व्यवस्थापन प्रणालीअनुसार विसर्जन गर्न नागरिक पनि जिम्मेवार बन्नुपर्छ।
स्वच्छ र सुन्दर नेपालगञ्ज निर्माणका लागि सरसफाइ अभियान सञ्चालन गर्नुका साथै नियमको प्रभावकारी कार्यान्वयन, नियमित अनुगमन र नागरिकमा जिम्मेवारीबोध विकास गर्नु आवश्यक देखिन्छ।

