२३, असोज २०८३ शुक्रबार
बाँके, नेपालगन्ज – एसियन पेन्ट्स च्याम्पियन कपअन्तर्गत जारी यू–१८ फुटबल प्रतियोगितामा नेपालगन्जको सगरमाथा इङ्लिस बोर्डिङ सेकेन्डरी स्कुलले गण्डकी प्रदेशको गुरुकुल विद्या सदनलाई ४–३ गोलले पराजित गरेको छ। नेपालगन्ज रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा जित निकाल्दै सगरमाथाले आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएको हो।

खेलमा सगरमाथाका अमित बोहराले ३२औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। सन्जय रोकाले ३८औँ मिनेटमा दोस्रो गोल गरे भने ५१औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता बढाए। खेलको अतिरिक्त समय ९१औँ मिनेटमा मनोज परियारले थप गोल गर्दै सगरमाथाको जित सुनिश्चित गरे।

यता, गुरुकुल विद्या सदनका सफल विकले ४५औँ र ९०औँ मिनेटमा दुई गोल गरे भने अपिल कुँवरले ५०औँ मिनेटमा थप गोल गरेका थिए। तीन गोल गरे पनि गुरुकुलले सगरमाथालाई रोक्न सकेन।

बाँके जिल्लाका ३२ टोलीलाई पछि पार्दै जिल्ला च्याम्पियन बनेको सगरमाथाले प्रदेशस्तरीय प्रतिस्पर्धामा पनि उत्कृष्ट प्रदर्शन गरेको थियो। दाङमा भएको लुम्बिनी प्रदेशस्तरीय खेलमा मेचीकाली सेकेन्डरी स्कुललाई पराजित गर्दै सगरमाथा प्रदेश विजेता बनेको थियो।

जिल्ला हुँदै प्रदेशस्तरसम्म लगातार उत्कृष्ट प्रदर्शन गरेको सगरमाथा अब केन्द्रीय उपाधि जित्ने लक्ष्यसहित अघि बढेको छ। घरेलु मैदानमा प्राप्त जितले टोलीको आत्मविश्वास थप बढाएको छ।
युवा खेलाडीको प्रतिभा पहिचान तथा फुटबलको विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले यू–१८ उमेर समूहका खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गरेको छ।
यसैबीच, लुम्बिनी प्रदेशबाट केन्द्रीय प्रतियोगितामा छनोट हुने अर्को टोलीको टुङ्गो लगाउन शुक्रबार सुदूरपश्चिम र गण्डकी प्रदेशका टोलीबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। तीन टोलीबीचको प्रतिस्पर्धाबाट छनोट हुने टोलीले काठमाडौँमा हुने केन्द्रीयस्तरको प्रतियोगितामा सहभागिता जनाउनेछ।


