२२, असोज २०८३ बिहीबार
भारत, मुम्बई – वरिष्ठ बलिउड तथा मराठी अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। गोवास्थित डोना पाउलाको निवासमा बेहोस अवस्थामा भेटिएका पाटेकरलाई तत्काल मणिपाल अस्पताल लगिएको थियो। तर, चिकित्सकले बिहीबार बिहान ५ः२० बजे उनलाई मृत घोषणा गरेका हुन्।

भारतीय सञ्चारमाध्यमका अनुसार प्रारम्भिक विवरणमा पाटेकरको मृत्यु हृदयाघातका कारण भएको बताइएको छ। अस्पताल पुर्याएपछि चिकित्सकहरूले करिब ४५ मिनेटसम्म सीपीआरमार्फत उनलाई बचाउने प्रयास गरेका थिए।
तर, उपचारका क्रममा कुनै प्रतिक्रिया नआएपछि उनलाई बचाउन नसकिएको मणिपाल अस्पतालका चिकित्सक डा. शेखर सालकरले बताएका छन्।

घटनापछि कानुनी प्रक्रिया अघि बढाइएको र मृत्युको यकिन कारण पुष्टि गर्न पोस्टमार्टम गरिने अस्पतालले जनाएको छ। परिवारका तर्फबाट भने निधनबारे विस्तृत आधिकारिक विवरण आउन बाँकी रहेको बताइएको छ।
नाना पाटेकर हिन्दी तथा मराठी चलचित्रका चर्चित अभिनेता थिए। ‘परिंदा’, ‘क्रान्तिवीर’, ‘अब तक छप्पन’ र ‘वेलकम’ लगायतका चलचित्रमा उनले निर्वाह गरेका भूमिकाले उनलाई दर्शकमाझ लोकप्रिय बनाएको थियो।
शक्तिशाली अभिनय, विशिष्ट संवाद शैली र प्रभावशाली पर्दा उपस्थितिका कारण पाटेकरले भारतीय चलचित्र क्षेत्रमा छुट्टै पहिचान बनाएका थिए। उनको निधनसँगै भारतीय मनोरञ्जन क्षेत्रमा शोक छाएको छ।
उनको अन्तिम संस्कार र परिवारको आधिकारिक वक्तव्यबारे थप विवरण आउन बाँकी छ।

