२०, असोज २०८३ मगंलवार
बाँके, नेपालगन्ज – दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै बाँकेको जमुनाहा नाकामा संयुक्त यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ। सहायता कक्षको सोमबार बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले शुभारम्भ गरेका हुन्।

चाडपर्वका बेला भारतबाट ठूलो संख्यामा नेपाली नागरिक स्वदेश फर्किने भएकाले यात्रुको सुरक्षा र सहज यात्राका लागि सहायता कक्ष सञ्चालन गरिएको हो।
प्रमुख जिल्ला अधिकारी तामाङले नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्दै सम्भावित जोखिम पहिचान गरी विशेष सुरक्षा योजना लागू गरिएको बताए। भारतबाट फर्किने नेपालीलाई बाटोमा ठगी, लुटपाटलगायतका समस्या हुन नदिन सुरक्षा निकाय सक्रिय रहेको उनको भनाइ छ।

बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले चाडपर्वका समयमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न विशेष सुरक्षा योजना लागू गरिएको जानकारी दिए। उनका अनुसार जमुनाहा नाकामा सोमबारदेखि तथा नेपालगन्ज र कोहलपुर बसपार्कमा मंगलबारदेखि यात्रु सहायता कक्ष सञ्चालन गरिनेछ।

सहायता कक्षमा जनपद प्रहरी र ट्राफिक प्रहरी परिचालन गरिएको छ। यात्रुको सुरक्षा, यातायात व्यवस्थापन, ठगी तथा लुटपाट नियन्त्रण र आवश्यक समन्वयका लागि प्रहरीले सेवा प्रदान गर्ने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

सहायता कक्ष शुभारम्भ कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण बागेश्वरीका प्रमुख एसपी भीमबहादुर चन्द, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख कनकबहादुर शाही, इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज राजनप्रसाद भट्टराईलगायत सुरक्षा निकायका अधिकारीहरूको सहभागिता थियो।


