०२, असोज २०८३ शुक्रबार
बाँके, नेपालगन्ज – एसियन पेन्ट्स च्याम्पियन कप अन्डर–१८ को उपाधि जित्न सफल सगरमाथा इङ्लिस बोर्डिङ सेकेन्डरी स्कुल, नेपालगन्ज–१८, बाँकेका खेलाडीलाई विद्यालयले सम्मान गरेको छ।

विद्यालयमा आयोजित स्वागत तथा बधाई कार्यक्रममा उपाधि विजेता खेलाडीहरूलाई विद्यालयका संस्थापक कृष्णबहादुर जिसी र संस्थापक लक्ष्मी बिसीले टीका, खादा तथा प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेका हुन्।

३२ टोलीको सहभागिता रहेको प्रतियोगिताको फाइनलमा सगरमाथा इङ्लिस बोर्डिङ स्कुल र नेपालगन्ज मोडेल एकेडेमी आमनेसामने भएका थिए। भदौ ३१ गते भएको फाइनल खेलको निर्धारित ९० मिनेटमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल ट्राइबेकरमा पुगेको थियो।
ट्राइबेकरमा सगरमाथा स्कुलले ४ गोल गर्दा नेपालगन्ज मोडेल एकेडेमीले ३ गोल गरेको थियो। ४–३ को जितसँगै सगरमाथा स्कुलले च्याम्पियन कपको उपाधि उचालेको हो।

उपाधि जितेपछि विद्यालयले खेलाडी, प्रशिक्षक तथा सम्पूर्ण विद्यालय परिवारलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ। विद्यालयले खेलाडीहरूको प्रतिभा, मेहनत र सफलताको उच्च कदर गर्दै सम्मान गरिएको जनाएको छ।

सम्मान कार्यक्रममा विद्यालय परिवारसँगै विभिन्न क्षेत्रका प्रतिनिधि तथा खेलप्रेमीहरूको सहभागिता रहेको थियो।
विद्यालयस्तरीय चरणमा च्याम्पियन बनेको सगरमाथा स्कुलले अब प्रदेशस्तरीय प्रतियोगितामा सहभागिता जनाउनेछ।

प्रदेशस्तरमा सफलता हासिल गरेपछि संघीयस्तरको प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त हुने आयोजकले जनाएको छ।

