०२, असोज २०८३ शुक्रबार
बाँके, कोहलपुर – जन्मदिनलाई भोजभतेर र अनावश्यक तडकभडकमा सीमित नगरी सामाजिक सेवामार्फत मनाउने सन्देश दिँदै पत्रकार भुवन थापाले विद्यार्थीहरूलाई शैक्षिक तथा स्वास्थ्य सामग्री वितरण गरेका छन्।

राप्ती सोनारी गाउँपालिका–९, ढकेरीस्थित गणेश माध्यमिक विद्यालयमा पत्रकार थापाले आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीहरूलाई सेनटरी प्याड, फर्स्ट एड बक्स तथा कापी–कलमलगायतका शैक्षिक सामग्री वितरण गरेका हुन्।
आगामी असोज ३ गते पर्ने आफ्नो जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै थापाले विद्यार्थीको स्वास्थ्य, शिक्षा र आवश्यकतालाई प्राथमिकतामा राखेका हुन्।
जन्मदिनमा ठूलो रकम खर्च गरेर भोज गर्ने तथा तडकभडकपूर्ण कार्यक्रम गर्नेभन्दा विद्यार्थीको भविष्यमा लगानी गर्नु महत्वपूर्ण हुने सन्देश उनको यो पहलले दिएको छ।

विशेषगरी छात्राहरूका लागि आवश्यक सेनटरी प्याड वितरणले विद्यालयमा महिनावारी स्वच्छता तथा स्वास्थ्यसम्बन्धी विषयलाई प्राथमिकता दिएको छ। त्यस्तै, फर्स्ट एड सामग्री र कापी–कलमले विद्यार्थीको दैनिक अध्ययन तथा प्राथमिक उपचारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
पत्रकारितासँगै सामाजिक सेवामा समेत सक्रिय थापाले बालबालिकाको हक–अधिकार, शिक्षा तथा समाजका विभिन्न समस्याका विषयमा आवाज उठाउँदै आएका छन्।
आफ्नो जन्मदिनमा विद्यार्थीलाई सहयोग गर्दै उनले जन्मदिनको खुसी भोज र रमझममा मात्र नभई आवश्यकतामा रहेका व्यक्तिको सहयोगमा पनि खोज्न सकिने सन्देश दिएका छन्।
विद्यार्थीको स्वास्थ्य, शिक्षा र भविष्यमा गरिएको सानो सहयोगले समेत सकारात्मक प्रभाव पार्न सक्ने भन्दै थापाको यो पहललाई सामाजिक उत्तरदायित्वसँग जोडिएको उदाहरणका रूपमा लिइएको छ।

