३०, भदौ २०८३ बुधबार
काठमाडौं – रसुवागढी तथा भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री राहत कोषमा २१ लाख रुपैयाँ सहयोग गरेको छ।

जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकको निर्णयअनुसार पार्टीका महासचिव प्रकाश अधिकारी र डा. सुरेन्द्रकुमार झासहितको विपद् व्यवस्थापन तथा राहत आर्थिक सहयोग संकलन समितिका प्रतिनिधिहरूले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेट गरी प्रधानमन्त्री राहत कोषका लागि २१ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।

पार्टीका अनुसार रसुवागढी तथा भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा सहयोग गर्नु सबैको साझा दायित्व हो। विपद्को समयमा प्रभावित नागरिकको साथमा रहेको जनाउँदै जसपा नेपालले नेपाल सरकारको उद्धार, राहत तथा पुनःस्थापना अभियानलाई समर्थन गरेको जनाएको छ।
चेक हस्तान्तरणका क्रममा पार्टीका सचिव शैलेन्द्र प्रसाद साह तथा सदस्यहरू वीरेन्द्र प्रधान, रमेशबाबु श्रेष्ठ, पेशल ढकाल र भुवनेश्वर चौधरी लगायतको प्रतिनिधिमण्डल सहभागी रहेको पार्टीले जनाएको छ।
जसपा नेपालले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनी एवं दातृ निकायहरूलाई समेत विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सञ्चालन भइरहेको अभियानमा सहभागी हुन अपिल गरेको छ।
साथै, पार्टीमार्फत उक्त अभियानमा आर्थिक सहयोग गर्ने विभिन्न तहका पार्टी कमिटी तथा सहयोगीहरूलाई धन्यवाद तथा सम्मान व्यक्त गरिएको छ। पार्टीका महासचिव डा. सुरेन्द्रकुमार झाद्वारा जारी प्रेस विज्ञप्तिमा सहयोग र सहकार्यका लागि सबैमा आभार व्यक्त गरिएको छ।

