जीवनशैली, भर्खरै, शिक्षा, समाचार, समाचार

बाढीपीडितका लागि इस्लामी संघ बाँके र आइडियल स्कुलद्वारा ७५ हजार बढी सहयोग

२६, भदौ २०८३ शुक्रबार 

बाँके, नेपालगन्ज –  रसुवाको भोटेकोशी र त्रिशूली नदीसहित विभिन्न जिल्लामा आएको भीषण बाढी तथा विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार र पुनर्स्थापनाका लागि इस्लामी संघ नेपाल बाँके र आइडियल पब्लिक सेकेन्ड्री स्कुल नेपालगन्जले आर्थिक सहयोग गरेका छन्।


प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा आइडियल पब्लिक सेकेन्ड्री स्कुलका शिक्षक तथा विद्यार्थीको तर्फबाट ४९ हजार ७ सय रुपैयाँ र इस्लामी संघ नेपाल बाँकेको तर्फबाट २६ हजार २ सय २५ रुपैयाँ गरी कुल ७५ हजार ९ सय २५ रुपैयाँ सहयोग गरिएको हो।


आइडियल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रेआलम खान र इस्लामी संघ नेपाल बाँकेका अध्यक्ष जमील जसगढ लगायतको टोलीले सामूहिक रूपमा संकलन गरेको सहयोग रकमको भौचर बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङलाई हस्तान्तरण गरेका छन्।

भाद्र १० गते बिहान भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै आइडियलका अध्यक्ष खानले दुःख व्यक्त गर्नुभएको छ। उहाँले विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ।


राष्ट्रिय विपद्को यस घडीमा राज्यसँगै नागरिक पनि एकजुट भएर उभिनुपर्ने बताउँदै खानले उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यमा सरकारसँग काँधमा काँध मिलाएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ।

Advertisement

उहाँले विपद्का बेला नेपालका सम्पूर्ण मुस्लिम समुदायलाई एकताबद्ध भएर उद्धार तथा राहतका कार्यमा सहयोग गर्नसमेत आह्वान गर्नुभएको छ।

विपद्पछिको कठिन अवस्थामा सुरक्षा निकाय, स्थानीय प्रशासन तथा सरकारी संयन्त्रले देखाएको तत्परता र अथक प्रयासप्रति पनि खानले कृतज्ञता व्यक्त गर्नुभएको छ।

प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सर्न आग्रह गर्दै उहाँले आपत्कालीन उद्धार तथा राहतका लागि सरकारले गरिरहेको समन्वयको प्रशंसा गर्नुभएको छ।

Advertisement

सहयोग रकम बुझ्दै बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले अध्यक्ष खानसहित सहयोगी टोलीलाई धन्यवाद दिनुभएको छ। विपद्को समयमा गरिएको सहयोगले प्रभावित नागरिकको पीडामा मल्हम लगाउने काम गर्ने उहाँले बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0