जीवनशैली, भर्खरै, शिक्षा, समाचार, समाचार, स्वास्थ

बाल अधिकारका सवाललाई प्राथमिकता दिन पत्रकारसँग बाल क्लबको आग्रह

२२, भदौ २०८३ सोमबार 

बाँके, नेपालगन्ज –  जानकी गाउँपालिकाका बाल क्लबका पदाधिकारी तथा सदस्यहरूले बाल अधिकार संरक्षणका सवाललाई सञ्चारमाध्यमले प्राथमिकताका साथ उठाउन पत्रकारहरूलाई आग्रह गरेका छन्।


बाल क्लबले गाउँपालिकाभित्र बालविवाह तथा लागुऔषध रोकथाम, सरसफाइ, शिक्षा र स्वास्थ्यलगायतका क्षेत्रमा विभिन्न सचेतनामूलक गतिविधि सञ्चालन गर्दै आए पनि ती गतिविधि स्थानीयस्तरमै सीमित भएकाले सञ्चारमाध्यममार्फत व्यापक बनाउनुपर्ने उनीहरूको भनाइ छ।


सामाजिक विकास मञ्च (एसडिएफ) बाँकेको आयोजना तथा वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा आइतबार जानकी गाउँपालिकास्थित पौवा होटलमा आयोजित ‘बाल अधिकार संरक्षणको सवालमा मिडियाकर्मीसँग साक्षात्कार’ कार्यक्रममा बाल क्लबका प्रतिनिधिहरूले यस्तो आग्रह गरेका हुन्।

कार्यक्रममा जानकी गाउँपालिका वडा नं. १ देखि ६ सम्मका बाल क्लबका पदाधिकारी तथा सदस्य र स्थानीय पत्रकारबीच बाल अधिकारका विषयमा छलफल गरिएको थियो। बाल अधिकारका सवाललाई प्रभावकारी रूपमा उठान गर्न बाल क्लब र सञ्चारकर्मीबीच नियमित समन्वय आवश्यक रहेकोमा सहभागीहरूले जोड दिएका थिए।


जानकी गाउँपालिका स्तरीय बाल क्लबका अध्यक्ष इमरान भाटले बाल क्लबले बालविवाह रोकथाम, लागुऔषध दुव्र्यसनविरुद्ध जनचेतनामूलक नाटक तथा कार्यक्रम, सरसफाइ, शिक्षा र स्वास्थ्यसम्बन्धी विभिन्न गतिविधि सञ्चालन गर्दै आए पनि सञ्चारमाध्यममा पर्याप्त स्थान पाउन नसकेको बताउनुभयो।

Advertisement

उहाँले बाल क्लबका गतिविधि, उपलब्धि तथा बालबालिकाले भोगिरहेका समस्यालाई सञ्चारमाध्यममार्फत बाहिर ल्याउन पत्रकारसँग थप समन्वय गर्ने बताउनुभयो।

कार्यक्रममा सहभागी पत्रकारहरूले पनि बालबालिकाका समस्या, अधिकार तथा बाल क्लबले गरेका सकारात्मक गतिविधिलाई समाचारका माध्यमबाट उजागर गर्न आफूहरू तयार रहेको बताएका छन्। पत्रकार कमल डाँगी, चन्द्रेश्वर त्रिपाठी, भिष्म लोध, भगतराम थारू, देवेन्द्रराज पौडेल, जागेश्वर सिंह थारू र आशा परियारले बाल अधिकारका विषयलाई प्राथमिकताका साथ उठान गर्ने प्रतिबद्धता जनाउनुभयो।

कार्यक्रमको अध्यक्षता वल्र्ड भिजन इन्टरनेशनल नेपालका बाँके जिल्ला संयोजक तिलक केसीले गर्नुभएको थियो। कार्यक्रममा हातेमालो परियोजनाका कार्यक्रम संयोजक भीमबहादुर सार्की, सामाजिक विकास मञ्च बाँकेका बाल संरक्षण अधिकृत जनक चौधरी, पत्रकार तथा जानकी गाउँपालिकाका वडा नं. १ देखि ६ सम्मका बाल क्लबका पदाधिकारी एवं सदस्यहरूको सहभागिता रहेको थियो।

Advertisement


सहभागीहरूले बाल क्लबका गतिविधिलाई समुदायमा मात्र सीमित नराखी सञ्चारमाध्यमसँगको सहकार्यमा बाल अधिकारका मुद्दालाई व्यापक रूपमा उठान गर्न कार्यक्रमले महत्वपूर्ण आधार तयार गरेको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0