१७, भदौ २०८३ बुधबार
काठमाडौं,
नेपाल प्रहरीले रसुवाको भोटेकोशी/त्रिशूली बाढीमा परी दिवंगत भएका प्रहरी कर्मचारीका परिवारलाई तत्काल विशेष आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा बसेको नीति निर्माण समितिको बैठकले प्रहरी कर्मचारीबाट राहतस्वरूप संकलन गरिएको रकमबाट दिवंगत प्रत्येक प्रहरी कर्मचारीका परिवारलाई तत्काल १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो।
बैठकले बाढीमा परी दिवंगत प्रहरी कर्मचारीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। साथै हालसम्म फेला नपरेका प्रहरी कर्मचारीको खोजीलाई परिवारसँग समन्वय गरी विशेषज्ञसहितको टोली परिचालन गरेर थप प्रभावकारी बनाउने निर्णय गरिएको छ।
दिवंगत प्रहरी कर्मचारीले नेपाल प्रहरी कल्याण कोषबाट लिएको विशेष सापटी ऋण मिनाहा गर्ने, परिवारका इच्छुक एक जनालाई सीपमूलक तालिम तथा रोजगारीका लागि आवश्यक पहल गर्ने निर्णय पनि गरिएको छ।
त्यस्तै, मृतक प्रहरी कर्मचारीका सन्ततिलाई पायक पर्ने प्रहरी आवासीय विद्यालयमा आधारभूत तहसम्म तथा नेपाल प्रहरी आवासीय विद्यालय साँगा, काभ्रेमा उच्च शिक्षासम्म शैक्षिक शुल्क मिनाहा गरी अध्ययनको व्यवस्था मिलाउने निर्णय भएको छ।
बाढी प्रभावित क्षेत्रमा कार्यरत प्रहरी कर्मचारीहरू—इप्रका टिमुरे, अस्थायी प्रहरी पोष्ट मैलुङ, प्रहरी चौकी रसुवागढी, स्याफ्रुवेशी र बेत्रावतीका कर्मचारीलाई व्यक्तिगत सामग्रीमा भएको क्षतिको राहतस्वरूप जनही ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णयसमेत बैठकले गरेको छ।
दिवंगत, सम्पर्कविहीन तथा घाइते प्रहरी कर्मचारी र उनीहरूका परिवारलाई खोजतलास, उपचार तथा सेवा–सुविधामा सहजीकरण गर्न नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागले एक जना वरिष्ठ प्रहरी अधिकृतलाई सम्पर्क व्यक्ति तोक्ने निर्णय गरेको छ।
यसैबीच, रसुवाको भोटेकोशी/त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षतिको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४० करोड रुपैयाँ प्रदान गर्ने निर्णय पनि नेपाल प्रहरीले गरेको छ।

