जीवनशैली, भर्खरै, समाचार, समाचार

भोटेकोशी बाढीपीडितका लागि पत्रकार महासंघ बाँकेद्वारा ५१ हजार रुपैयाँ सहयोग

१६, भदौ २०८३ मगंलवार

बाँके, नेपालगन्ज – नेपाल पत्रकार महासंघ बाँके शाखाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ५१ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ।


महासंघ बाँके शाखाको मंगलबार अध्यक्ष नवीन गिरीको अध्यक्षतामा बसेको बैठकले बाढीपीडितका लागि सहयोग गर्ने निर्णय गरेको हो। निर्णयलगत्तै मंगलबार नै उक्त रकम कोषमा जम्मा गरिएको महासंघ बाँकेले जनाएको छ।

बैठकले भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्पर्कविहीन व्यक्तिहरूको खोजी तथा उद्धारलाई तीव्र बनाउन र पीडित तथा प्रभावित नागरिकलाई तत्काल राहत तथा पुनःस्थापना उपलब्ध गराउन सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरेको छ।


विपद्को संवेदनशील अवस्थालाई ध्यानमा राख्दै महासंघले यसअघि भदौ २१ गते आयोजना गर्ने तय गरेको ‘तीज मिलन’ कार्यक्रम तथा पत्रकार महिलाबीचको ‘तीज विशेष कविता प्रतियोगिता’ समेत रद्द गरेको छ।

Advertisement

उत्सवभन्दा मानवीय सहयोग, उद्धार र राहतलाई प्राथमिकता दिने निष्कर्षसहित तीज कार्यक्रमका लागि छुट्याइएको रकममा कार्यसमितिको तर्फबाट थप रकमसमेत गरी कुल रु. ५१ हजार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।


यसैगरी, भोटेकोशी बाढीबाट सिर्जित असहज परिस्थितिलाई मध्यनजर गर्दै महासंघ बाँके शाखामा आबद्ध साधारण सदस्यहरूको सदस्यता नवीकरणको म्याद १५ दिन थप गरिएको छ। यसअघि भदौ १५ गतेसम्म रहेको नवीकरणको अन्तिम म्याद अब भदौ मसान्तसम्म कायम गरिएको महासंघ बाँके शाखाका सचिव कृष्ण ओलीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Advertisement