११, भदौ २०८३ बिहीबार
बाँके, नेपालगञ्ज – माटो, पानी, वन तथा खोलानालाको संरक्षण गर्दै जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने उद्देश्यले बाँकेको जानकी गाउँपालिकामा एक दिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ ।

सामाजिक विकास मञ्च (एसडिएफ) बाँकेको आयोजना, जानकी गाउँपालिकाको समन्वय तथा वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा आयोजित कार्यक्रममा संरक्षणमुखी कृषि, वातावरण संरक्षण तथा जलवायु परिवर्तनका असरबारे सहभागीलाई जानकारी गराइएको थियो ।

कार्यक्रममा जानकी गाउँपालिकाका कृषि शाखा अधिकृत अशिम पौडेलले माटोको महत्व, कृषि उत्पादनमा यसको भूमिका, आधुनिक तथा थोपा सिँचाइ प्रविधि र माटो संरक्षणका उपायबारे प्रशिक्षण दिनुभयो ।
उहाँले माटोको गुणस्तर कायम राख्न सके कृषि उत्पादन वृद्धि हुनुका साथै दिगो कृषि प्रणाली विकास गर्न सकिने बताउनुभयो ।

उहाँले माटो संरक्षणका लागि रासायनिक मलको उचित प्रयोग, जैविक पदार्थको प्रयोग र पानीको व्यवस्थित व्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
यस्तै, जानकी गाउँपालिकाका विपत् शाखा प्रमुख राजेन्द्र बाजपेईले मौसम परिवर्तन, वातावरण प्रदूषण, पानीका मुहान सुक्दै जानु तथा जलवायु परिवर्तनबाट उत्पन्न चुनौतीबारे जानकारी गराउनुभयो ।
उहाँले मौसम र जलवायुबीचको फरक तथा स्थानीय समुदाय र कृषि क्षेत्रमा जलवायु परिवर्तनले पार्ने प्रभावबारे सहभागीलाई प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा हातेमालो परियोजनाका कार्यक्रम संयोजक भीमबहादुर सार्कीले परियोजनाका गतिविधि तथा उद्देश्यबारे जानकारी दिँदै प्राकृतिक स्रोत संरक्षण र वातावरणमैत्री गतिविधिमा समुदायको सहभागिता आवश्यक रहेको बताउनुभयो ।
सामाजिक विकास मञ्च बाँकेका बाल संरक्षण अधिकृत जनक चौधरीले सञ्चालन गर्नुभएको कार्यक्रममा जनप्रतिनिधि, कृषक, बालबालिका, पत्रकार लगायतको सहभागिता रहेको थियो ।
सहभागीहरूले माटो, पानी, वन तथा जलस्रोत संरक्षणलाई स्थानीय तहको योजना र समुदायको व्यवहारसँग जोडेर अघि बढाउनुपर्ने धारणा राखेका थिए । एसडिएफ बाँकेले जानकी गाउँपालिकामा बालबालिका, जलवायु तथा शिक्षा सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

