१०, भदौ २०८३ बुधबार
बाँके, नेपालगञ्ज – रसुवामा आएको भीषण बाढी तथा प्राकृतिक विपत्तिका कारण देश शोकमा डुबेको बेला हजरत मोहम्मद मुस्तफा ﷺ को जन्मोत्सव (मोहम्मद डे) का अवसरमा आयोजना हुने जश्न तथा उत्सवका कार्यक्रम स्थगित गरी राहत, उद्धार र मानवीय सेवामा केन्द्रित हुन अपिल गरिएको छ।

दारुल उलुम फैजुन नबी जामा मस्जिद–ईदगाह सञ्चालक तदर्थ समितिले एक अपिल जारी गर्दै विपत्तिको यस घडीमा उत्सवभन्दा मानव जीवनको रक्षा, पीडित परिवारको सहयोग, घाइतेको उपचार र उद्धार कार्यलाई प्राथमिकता दिन आग्रह गरेको हो।
समितिका संयोजक मोहम्मद अयुब सिद्दिकीले जारी गरेको अपिलमा सम्पूर्ण आयोजक, धार्मिक अगुवा, उलेमा, युवा तथा मुस्लिम समुदायलाई आ–आफ्नो स्थानबाट राहत तथा उद्धार कार्यमा सक्रिय सहभागी हुन अनुरोध गरिएको छ।
“विपत्तिमा परी ज्यान गुमाउनु भएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ, बेपत्ताहरूको सकुशल उद्धार र शोकसन्तप्त परिवारलाई धैर्य तथा हिम्मत प्रदान होस् भनी अल्लाह तआलासँग दुआ गर्दछौँ,” अपिलमा उल्लेख गरिएको छ।
समितिले यस दुःखद् घडीमा सम्पूर्ण नेपाली एकजुट भएर पीडितहरूको साथमा उभिन आग्रह गर्दै मानव सेवा नै सबैभन्दा ठूलो सेवा र धर्म भएको सन्देश दिएको छ।

