भर्खरै, राजनीति, समाचार, समाचार

युनियन बाँकेले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने

०८, भदौ २०८३ सोमबार 

बाँके, नेपालगन्ज – नेपाल प्रेस युनियन बाँकेले पत्रकारहरूको सहयोगका लागि कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरेको छ।युनियन बाँकेको नवनिर्वाचित पदाधिकारीको सोमबार बसेको पहिलो बैठकले पत्रकारहरूलाई समस्या पर्दा सहयोग पुर्‍याउने उद्देश्यले कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरेको हो।


अध्यक्ष कमल खत्रीले आफ्नो कार्यकालको पहिलो निर्णयका रूपमा पत्रकारहरूको हितलाई ध्यानमा राख्दै कोष स्थापना गर्ने निर्णय गरिएको बताउनुभयो।

उहाँले रिपोर्टिङका क्रममा पत्रकारहरूले सवारी साधन चलाउनुपर्ने र दुर्घटनाको जोखिमसमेत रहने भएकाले अप्ठ्यारो अवस्थामा कोषबाट राहत उपलब्ध गराउने उद्देश्य रहेको बताउनुभयो।


“पत्रकारहरूलाई समस्या पर्दा कोषले केही राहत पुर्‍याउनेछ,” अध्यक्ष खत्रीले भन्नुभयो, “रिपोर्टिङका लागि पत्रकारले जतिबेला पनि सवारी चलाउनुपर्ने अवस्था हुन्छ। त्यस क्रममा दुर्घटनाको जोखिम धेरै हुन्छ। यस्तो अवस्थामा कोषले केही राहत प्रदान गर्ने हाम्रो आशा छ।”

अध्यक्ष खत्रीले स्थापना गरिने कोषलाई करिब १० लाख रुपैयाँ पुर्‍याउने लक्ष्य रहेको बताउनुभयो।
बैठकले अधिवेशन सफल बनाउन भूमिका निर्वाह गर्ने युनियनका केन्द्रीय प्रतिनिधि, पदाधिकारी, लुम्बिनी प्रदेश समिति, निर्वाचन समिति तथा युनियनका अग्रज नेताहरूप्रति आभारसमेत व्यक्त गरेको छ।

Advertisement

यसैबीच, नवनिर्वाचित पदाधिकारीले पदभार ग्रहण गरेका छन्। निर्वाचन समिति संयोजक केशवराज कोइरालाले निर्वाचित पदाधिकारी तथा प्रदेश र संघीय प्रतिनिधि परिषद्का सदस्यलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो।

कार्यक्रममा युनियनका केन्द्रीय सदस्य तथा केन्द्रीय प्रतिनिधि मुक्तबाबू रेग्मी, लुम्बिनी प्रदेश महासचिव नवी गिरी, पूर्व केन्द्रीय सदस्य उमा थापा, युनियन बाँकेका पूर्व अध्यक्ष अर्जुन ओली, जयनारायण शाह, नेपाली कांग्रेस बाँकेका प्रेस सल्लाहकार निरज गौतमलगायतको उपस्थिति थियो।

कार्यक्रममा केन्द्रीय प्रतिनिधि रेग्मीले युनियन बाँकेले सर्वसम्मत कार्यसमिति चयन गरेर अन्य शाखालाई सकारात्मक सन्देश दिएको बताउनुभयो।

Advertisement

युनियन बाँकेका निवर्तमान अध्यक्ष प्रियास्मृत ढकालले आफ्नो तीनवर्षे कार्यकालमा सक्दो रचनात्मक काम गर्ने प्रयास गरेको बताउँदै नवनिर्वाचित अध्यक्ष कमल खत्रीलाई पद हस्तान्तरण गर्नुभयो। उहाँले नयाँ कार्यसमितिले अझ बढी रचनात्मक र प्रभावकारी काम गर्न सकोस् भन्दै शुभकामना व्यक्त गर्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0