०३, भदौ २०८३ बुधबार
मेराज अहमद हिमालय
बाँके, नेपालगञ्ज – जस्न–ए–ईद मिलादुन्नबी ﷺ अर्थात् विश्वव्यापी महान पर्व ‘मोहम्मद डे’को अवसरमा सम्पूर्ण मुस्लिम समुदायमा हार्दिक मंगलमय शुभकामना तथा मुबारकबाद व्यक्त गर्दछु।
आजको समयमा हाम्रो युवा जमातले आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक बुझेर धार्मिक मर्यादा, अनुशासन, सद्भाव र मानवसेवामा उदाहरण प्रस्तुत गर्न आवश्यक छ।
मोहम्मद डे ﷺ को जुलुसमा डीजे बन्द गर्ने निर्णय कसैको प्रभाव, दबाब वा व्यक्तिगत आग्रहका कारण नभई पछिल्लो समय डीजेका कारण देखिँदै आएको विकृति, विसंगति तथा अनुशासनहीनता रोक्ने उद्देश्यले समुदायका अगुवा, सम्बन्धित संघ–संस्था तथा जिम्मेवार नेतृत्वबाट गरिएको हो।
यस निर्णयको भावना बुझेर धेरै जिम्मेवार युवा साथीहरूले स्वागतसमेत गरिसकेका छन्।
मोहम्मद डे ﷺ को अवसरमा घर–घर र टोल–टोलबाट निस्कने जुलुसमा मक्का–मदीना तथा धार्मिक कलिमात लेखिएका झण्डा र ब्यानरको बेअदबी हुने अवस्था देखिनु चिन्ताको विषय हो। डीजे राखिएको गाडीमाथि चढ्ने, गाडीको बोनट तथा साइडमा बाँधिएका झण्डा–ब्यानरमाथि खुट्टा राख्ने, होहल्ला गर्ने तथा नाचजस्तो व्यवहार गर्ने गतिविधि धार्मिक मर्यादा र संस्कारअनुकूल देखिँदैन।
यो विषय कसैलाई दोष लगाउनेभन्दा पनि सुधारको विषय हो। विशेषगरी कम उमेरका युवाहरूको उत्साह र नासमझीका कारण यस्ता गतिविधि बढ्दै गएको अवस्थामा अग्रज तथा जिम्मेवार युवाहरूले सही बाटो देखाउन आवश्यक छ।
त्यसैले दर्ता भएका मस्जिद, मदरसा, सामाजिक संस्था तथा समुदायका अगुवाहरूको नेतृत्वमा मोहम्मद डे ﷺ को जुलुसलाई मर्यादित, अनुशासित र धार्मिक वातावरणमा सम्पन्न गर्न सबैमा अनुरोध गरिएको छ। हर्न र डीजेको प्रतिस्पर्धाभन्दा नात–ए–पाक पढ्दै, हातमा झण्डा बोकेर, अदब र अनुशासनका साथ आम जनतालाई सहभागी गराउनु नै उपयुक्त हुनेछ।
युवा जमातको काँधमा डीजेभन्दा ठूलो जिम्मेवारी छ
हाम्रो युवाशक्ति केवल जुलुसमा भीड बढाउनका लागि होइन, समाज र मानवताको सेवा गर्नका लागि हो। त्यसैले डीजेमा खर्च हुने रकमलाई सामाजिक तथा मानवीय सेवामा लगाउन सकिन्छ।
जुलुसको एक दिन अगाडि वा जुलुसपछि युवाहरूले सामूहिक रूपमा अनाथ आश्रममा फलफूल तथा आवश्यक सामग्री वितरण गर्न, अस्पतालमा रहेका बिरामीलाई फलफूल वितरण गर्न, जेल तथा कैदीबन्दीलाई आवश्यक खाद्य सामग्री सहयोग गर्न, रक्तदान कार्यक्रम सञ्चालन गर्न तथा गरिब, असहाय, यतीम र जेहेन्दार बालबालिकालाई कापी–किताब र स्कुल ब्याग वितरण गर्न सकिन्छ। विपन्न परिवारलाई सहयोग गरेर पनि मानवसेवाको उदाहरण प्रस्तुत गर्न सकिन्छ।
यही नै नबी–ए–पाक ﷺ प्रति सच्चा प्रेमको सुन्दर अभिव्यक्ति बन्न सक्छ।
समाजका जिम्मेवार युवाहरूले आफ्नो वरिपरिका साथीहरूलाई पनि जोड्दै गलत प्रतिस्पर्धाबाट टाढा राख्नुपर्ने आवश्यकता छ। मानवसेवा, सद्भाव, अनुशासन र भाइचाराको सन्देशसहित मोहम्मद डे ﷺ मनाउनु नै आजको आवश्यकता हो।
डीजेभन्दा ठूलो हाम्रो जिम्मेवारी हो।
होहल्लाभन्दा ठूलो हाम्रो अदब हो।
देखावटीभन्दा ठूलो हाम्रो मानवसेवा हो।
र सच्चा आशिक–ए–रसूल ﷺ को पहिचान उसको व्यवहार र चरित्र हो।
अल्लाह तआला हामी सबैलाई नबी–ए–पाक ﷺ को प्रेम, अदब र शिक्षाअनुसार जीवन बिताउने तौफिक अता फरमाओस्। आमीन।
जस्न–ए–ईद मिलादुन्नबी ﷺ अर्थात् विश्वव्यापी महान पर्व ‘मोहम्मद डे’को हार्दिक मंगलमय शुभकामना तथा मुबारकबाद।

