२८, साउन २०८३ बिहीबार
रोल्पा — रोल्पाको थबाङ गाउँपालिका–५ उवामा गएको पहिरोमा परी हालसम्म ४ जनाको मृत्यु भएको छ भने ९ जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार मृतकको सनाखत भइसकेको छ।

मृत्यु हुनेमा थबाङ गाउँपालिका–५ निवासी १८ वर्षीया शान्ती पुन मगर, ६० वर्षीय कमल बहादुर पुन मगर, ७५ वर्षीय दल बहादुर पुन मगर र ८० वर्षीया मनखना पुन मगर रहेका छन्।
पहिरोमा परी घाइते भएका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय संजय घर्ती मगरलाई थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ।

पहिरोमा परी ३८ वर्षीया जुन कुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ५ वर्षीय अशोक पुन मगर, ८० वर्षीय अजम्बर पुन मगर, ८० वर्षीय बल बहादुर पुन मगर, ६१ वर्षीय लिल बहादुर पुन मगर, ६६ वर्षीया मनि पुन मगर, ८५ वर्षीया हस्तकला रोका मगर र ३४ वर्षीय महेन्द्र घर्ती बेपत्ता रहेको प्रहरीले जनाएको छ।

यसैबीच, छिमेकी जिल्ला प्युठानमा पनि पहिरोमा परी ५ वटा शव फेला परेको जनाइएको छ। ती शवको भने सनाखत हुन बाँकी रहेको छ।

घटनापछि सुरक्षाकर्मी तथा स्थानीयवासीको सहयोगमा बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेको छ।

