भर्खरै, शिक्षा, समाचार, समाचार, स्वास्थ

जानकी गाउँपालिकामा बाल संरक्षण व्यवस्थापन प्रणाली सुदृढ बनाउन समीक्षा बैठक सम्पन्न

२१, साउन २०८३ बिहीबार 

नेपालगञ्ज । जानकी गाउँपालिकामा बाल संरक्षण व्यवस्थापन प्रक्रियालाई थप प्रभावकारी बनाउने उद्देश्यले समीक्षा बैठक बिहीबार सम्पन्न भएको छ।


सामाजिक विकास मञ्च (एसडिएफ) बाँकेको आयोजना, वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोग तथा जानकी गाउँपालिकाको समन्वयमा आयोजित बैठकमा बाल संरक्षणका घटना व्यवस्थापन, सुधारात्मक कार्ययोजना तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो।


हातेमालो परियोजनाका कार्यक्रम संयोजक भीमबहादुर सार्कीले सहभागीहरूलाई समूहगत छलफलमार्फत बाल संरक्षणका घटनाको व्यवस्थापन, जोखिममा रहेका बालबालिकाको संरक्षणका उपाय तथा सुधारात्मक कार्ययोजनाका पाँच प्रमुख पक्षबारे अन्तरक्रियात्मक अभ्यास गराउनुभयो।


उहाँले बाल संरक्षणसम्बन्धी नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै अपाङ्गता भएका, कुपोषणको जोखिममा रहेका, अनाथ तथा आर्थिक रूपमा विपन्न बालबालिकालाई प्राथमिकतामा राखी सुरक्षित, सहज र बालमैत्री वातावरण सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो।


कार्यक्रम संयोजक सार्कीले जानकी गाउँपालिकामा अपाङ्गता, गरिबी, अशिक्षा, अनाथपन र कुपोषणको समस्याबाट प्रभावित बालबालिकाको संख्या उल्लेखनीय रहेको बताउँदै उनीहरूको आवश्यकताअनुसार सेवा, सहयोग तथा पुनःस्थापनाका कार्यक्रम हातेमालो परियोजनामार्फत सञ्चालन गरिने जानकारी दिनुभयो।

Advertisement


समीक्षा बैठकको अध्यक्षता जानकी गाउँपालिकाका सामाजिक विकास शाखा प्रमुख रामअचल धोबीले गर्नुभएको थियो। कार्यक्रममा गाउँपालिका अध्यक्ष छव्वन खाँ, महिला तथा बालबालिका शाखा प्रमुख कल्पना गाहा, सामाजिक विकास मञ्च बाँकेका बाल संरक्षण अधिकृत जनक चौधरी, वडा अध्यक्षहरू, जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षक, बालक्लबका पदाधिकारी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

सहभागीहरूले बाल संरक्षण व्यवस्थापन प्रणालीलाई अझ प्रभावकारी बनाउन स्थानीय तह, विद्यालय, स्वास्थ्य संस्था, समुदाय तथा सरोकारवाला निकायबीच समन्वय र सहकार्यलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याएका थिए।


कार्यक्रममा महिला तथा बालबालिका शाखा प्रमुख कल्पना गाहाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। बैठकले बाल संरक्षण सेवा प्रवाहलाई थप प्रभावकारी, पहुँचयोग्य र बालमैत्री बनाउने साझा प्रतिबद्धतासहित आगामी कार्ययोजना कार्यान्वयन गर्ने निष्कर्ष निकालेको छ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0