१९, साउन २०८३ मगंलवार
बाँके, नेपालगञ्ज — नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ११ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा समुदायमा आधारित रोग निगरानी प्रणाली (Community-Based Disease Surveillance System) सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

नेपालगञ्ज उपमहानगरपालिकाको जनस्वास्थ्य प्रवर्द्धन शाखाको समन्वयमा आयोजित कार्यक्रममा वडा अध्यक्ष नन्दकिशोर कश्यप, वडा सदस्य जितेन्द्र कुमार गुप्ता, वडा सदस्य पूनम कुमारी लखेर, वडा सदस्य सबिता बाल्मिकी, जनस्वास्थ्य अधिकृत शर्मिला सुवेदी, कार्यक्रम अधिकृत एलिना थापा (PHRD–Nepal), महाशाखाका निरीक्षक सरोज रिमाल, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूहका अध्यक्ष, युवा क्लबका प्रतिनिधि, स्वास्थ्य बीमा शिक्षक तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो।

अभिमुखीकरणका क्रममा समुदायमा देखिन सक्ने संक्रामक तथा अन्य स्वास्थ्यसम्बन्धी जोखिमहरूको समयमै पहिचान, सूचना संकलन, सम्बन्धित निकायमा जानकारी प्रवाह तथा रोग नियन्त्रणका प्रभावकारी उपायबारे जानकारी प्रदान गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष नन्दकिशोर कश्यपले समुदायको स्वास्थ्य सुरक्षा सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै रोगको समयमै पहिचान र सूचना प्रवाहमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो।

जनस्वास्थ्य अधिकृत शर्मिला सुवेदी र कार्यक्रम अधिकृत एलिना थापाले समुदायमा आधारित रोग निगरानी प्रणालीले रोगको प्रारम्भिक पहिचान, शीघ्र प्रतिकार्य तथा जनस्वास्थ्य संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै सबै सरोकारवालालाई सिकेका विषय व्यवहारमा लागू गर्न आग्रह गर्नुभयो।

सहभागीहरूले पनि अभिमुखीकरणबाट प्राप्त ज्ञानलाई व्यवहारमा कार्यान्वयन गर्दै समुदायको स्वास्थ्य सुरक्षामा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
यस्ता कार्यक्रमले रोगको प्रारम्भिक पहिचान, समयमै नियन्त्रण तथा स्वस्थ समुदाय निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

