३०, असार २०८३ मगंलवार
बाँके, नेपालगञ्ज – स्वतन्त्र चालक संघ नेपालले बाँके जिल्लामा संगठन विस्तार गर्दै जिल्ला कार्यसमिति गठन गरेको छ। संघका केन्द्रीय कोषाध्यक्ष रेशमकुमार जैशीको अध्यक्षतामा सम्पन्न प्रथम जिल्ला भेलाले विश्वसागर परियारलाई सर्वसम्मत रूपमा जिल्ला अध्यक्ष चयन गरेको हो।

भेलाले उपाध्यक्षमा तिलकबहादुर विक, सचिवमा प्रकाश बोहरा, सहसचिवमा प्रकाश बुढाथोकी तथा कोषाध्यक्षमा दिलबहादुर विकलाई सर्वसम्मत चयन गरेको छ। त्यसैगरी सदस्यहरूमा सुरज थारु, लिलु रसाइली, सुरेन रसाइली, सुदीप परियार, श्रवण विक, हिराबहादुर सुनार र रामप्रवेश थारु चयन भएका छन्।
भेलामा जिल्लाभर संगठन सुदृढीकरण, सदस्य विस्तार तथा सेवामूलक गतिविधि प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा छलफल भएको थियो। साथै, बाँके जिल्लामा कार्यालय स्थापना गरी संस्थागत गतिविधिलाई व्यवस्थित रूपमा अघि बढाउने र साउन १० गतेभित्र पूर्ण कार्यसमिति विस्तार गर्ने निर्णयसमेत गरिएको जनाइएको छ।
नवनिर्वाचित अध्यक्ष विश्वसागर परियारले चालकहरू कुनै पनि समस्यामा परे एकताबद्ध भएर सहकार्य र सहयोग गर्ने उद्देश्यले स्वतन्त्र चालक संघ नेपाल बाँके जिल्ला समिति गठन गरिएको बताउनुभयो। उहाँले चालकहरूको हकहित, पेशागत सुरक्षा र एकतालाई प्राथमिकतामा राख्दै संघलाई सक्रिय रूपमा अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

