जीवनशैली, भर्खरै, शिक्षा, समाचार, समाचार, स्वास्थ

जानकीमा ३ दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न, बालमैत्री र पोषणमैत्री स्थानीय शासन कार्यान्वयनमा जोड

२९, असार २०८३ सोमबार 

नेपालगञ्ज, बाँके – जानकी गाउँपालिकामा पोषणमैत्री स्थानीय शासन तथा बालमैत्री स्थानीय शासन सम्बन्धी स्थानीय सरकार र सरोकारवालाहरूका लागि आयोजित तीन दिने क्षमता अभिवृद्धि तालिम आइतबार सम्पन्न भएको छ।


सामाजिक विकास मञ्च (एसडिएफ) बाँकेको आयोजना, वर्ल्ड भिजन इन्टरनेशनल नेपालको सहयोग तथा जानकी गाउँपालिकाको समन्वयमा सम्पन्न तालिममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षक, बाल क्लबका पदाधिकारी, पत्रकार तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो।


तालिममा बालमैत्री स्थानीय शासन मञ्चका संयोजक तथा प्रशिक्षक अशोक खनालले बालमैत्री तथा पोषणमैत्री स्थानीय शासनका सूचक, रणनीति र कार्यान्वयन प्रक्रियाबारे प्रशिक्षण दिनुभयो। उहाँले जानकी गाउँपालिकालाई बालमैत्री घोषणा तथा त्यसको दिगोपन सुनिश्चित गर्न रणनीतिक योजना निर्माण आवश्यक रहेको बताउँदै बालबालिकाको हितका लागि योजना, नीति, संरचना र व्यवहारमा सुधार अपरिहार्य रहेको धारणा राख्नुभयो।


समापन कार्यक्रममा सामाजिक विकास मञ्च बाँकेका अध्यक्ष चम्पसिंह थापा मगरले बालमैत्री र पोषणमैत्री स्थानीय शासन सफल बनाउन शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सरसफाइ तथा पशुपन्छी क्षेत्रका सबै सरोकारवालाहरूबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले बालबालिका र पोषणमैत्री समाज निर्माणका लागि सबै पक्षले हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

Advertisement


सहभागीहरूले जानकी गाउँपालिकालाई बालमैत्री बनाउन बालअधिकारसम्बन्धी जनचेतनामूलक कार्यक्रम, सडक नाटक, अन्तरक्रिया तथा प्रचारप्रसारलाई व्यापक बनाउनुपर्ने सुझाव दिएका छन्। उनीहरूले शिक्षाको अवस्था कमजोर रहेकाले बालमैत्री तथा पोषणमैत्री पालिका बन्न चुनौती रहेको पनि औँल्याए।


तालिमका क्रममा बालमैत्री स्थानीय शासनका ५१ तथा पोषणमैत्री स्थानीय शासनका ४९ सूचकबारे विस्तृत छलफल गरी कार्ययोजना तयार पारिएको थियो। साथै, समूहगत छलफलमार्फत समुदायस्तरमा रहेका चुनौतीहरू पहिचान गर्दै समाधानका उपायबारे समेत विमर्श गरिएको थियो।

समापन कार्यक्रममा जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँ, प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्याय, सामाजिक विकास शाखा प्रमुख रामअचल धोबी, महिला तथा बालबालिका शाखा प्रमुख कल्पना गाहा, एसडिएफ बाँकेका एनसिजी अफिसर विवेक मलासी, बाल संरक्षण अधिकृत जनक चौधरी, वडा अध्यक्षहरू, जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक, बाल क्लबका पदाधिकारी तथा पत्रकारहरूको उपस्थिति रहेको थियो।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0