२३, असार २०८३ मगंलवार
बाँके, नेपालगञ्ज – बाँकेका युवा पत्रकार तथा सामाजिक अभियन्ता दिनेश ठाकुर विगत २५ वर्षदेखि साइकल चढेर गाउँ–गाउँ पुग्दै समाचार संकलन र रिपोर्टिङ गर्दै आइरहेका छन्। बुबा तिरथ राम ठाकुर र आमा कैलाशा देवी ठाकुरको कोखबाट २०४६ साल साउन ७ गते जन्मिएका ठाकुरले पत्रकारितालाई आफ्नो जीवनको मुख्य कर्म बनाएका छन्।

बाँके जिल्ला, विशेषगरी नेपालगञ्जलाई कार्यक्षेत्र बनाएर सक्रिय रहेका ठाकुरले २०५४ सालदेखि बाल भित्ते पत्रिकामा गीत, गजल तथा गाउँघरका घटनाहरू चार्ट पेपरमा लेख्दै पत्रकारिता यात्रा सुरु गरेका थिए। त्यसपछि २०६२/६३ सालदेखि नेपाली एक्सप्रेस, राष्ट्रिय पश्चिम टुडे, जनमत अर्धसाप्ताहिक, मधेशवाणी संकल्प साप्ताहिक, गुड न्युज साप्ताहिकलगायत विभिन्न सञ्चार माध्यममा काम गरेका उनी विगत १३ वर्षदेखि लोकप्रिय सन्देश दैनिक र सहारा अनलाइनमा आबद्ध छन्।

यस अवधिमा उनले साँगरमाथा टेलिभिजन, नेपाल वन टेलिभिजन, पश्चिमी सरोकार दैनिक, नव मधेश जागरण हिन्दी दैनिक, सराखबर डटकम, लोकप्रिय सन्देश दैनिक, मधेशवाणीलगायत विभिन्न सञ्चार माध्यममार्फत राजनीति, समाज, पर्यटन र समसामयिक विषयमा निरन्तर कलम चलाउँदै आएका छन्।
ठाकुर नेपाल पत्रकार महासंघ बाँके शाखाका निर्वाचित कार्यसमिति सदस्य हुन्। महासंघको २६औँ महाधिवेशनअन्तर्गत सम्पन्न जिल्ला अधिवेशनबाट उनी कार्यसमिति सदस्यमा निर्वाचित भएका थिए। यसअघि प्रेस चौतारी बाँके तथा प्रेस संगठन बाँकेको जिल्ला कार्यसमितिमा समेत रहेर पत्रकारहरूको व्यावसायिक हकहितका लागि सक्रिय भूमिका निर्वाह गरेका थिए। बाँकेमा उनी इमानदार र सक्रिय पत्रकारका रूपमा परिचित छन्।
पत्रकारितासँगै मानव अधिकार र सामाजिक क्षेत्रमा पनि ठाकुरको सक्रियता उल्लेखनीय छ। उनी मधेश मानव अधिकार गृह (माहुरी होम) बाँके जिल्ला कार्यसमितिका अध्यक्ष हुन् भने युवाहरूलाई सामाजिक सेवामा जोड्ने उद्देश्यले स्थापित नेपाल युवा क्लब बाँकेका अध्यक्षका रूपमा पनि नेतृत्व गरिरहेका छन्।
पत्रकारिता, मानव अधिकार संरक्षण र सामाजिक अभियानमा निरन्तर सक्रिय रहँदै आएका दिनेश ठाकुर आज पनि साइकलमै गाउँ–गाउँ पुगेर जनताका आवाज उजागर गर्ने अभियानमा निरन्तर जुटिरहेका छन्। उनको समर्पण, सरल जीवनशैली र निरन्तरको सक्रियताले बाँकेको पत्रकारितामा छुट्टै पहिचान स्थापित गरेको छ।

