१०, असार २०८३ बुधबार
बाँके, नेपालगञ्ज – बाँकेको जानकी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ६९ करोड ५६ लाख २९ हजार रुपैयाँको बजेट तथा नीति कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ। कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास, रोजगार सिर्जना, सुशासन तथा प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै गाउँपालिकाले महत्वाकांक्षी योजना अघि सारेको हो।

गाउँसभाको २०औँ अधिवेशनमा उपाध्यक्ष रामप्यारी यादवले प्रस्तुत गर्नुभएको बजेट सर्वसम्मत रूपमा पारित भएको हो। कुल बजेटमध्ये संघीय तथा प्रदेश सरकारबाट प्राप्त सशर्त, समपूरक तथा विशेष अनुदानतर्फ ४९ करोड ९६ लाख २९ हजार रुपैयाँ रहेको छ भने आन्तरिक स्रोतबाट २ करोड रुपैयाँ र राजस्व बाँडफाँडबाट १ करोड ६० लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ।

विनियोजित बजेटमध्ये आर्थिक विकासतर्फ ४५ लाख ७४ हजार रुपैयाँ, सामाजिक विकासतर्फ ४ करोड ११ लाख ४४ हजार रुपैयाँ, पूर्वाधार विकासतर्फ १२ करोड ४५ लाख ११ हजार रुपैयाँ, वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ २७ लाख रुपैयाँ तथा सुशासन एवं संस्थागत क्षमता विकासतर्फ ११ करोड ८ लाख रुपैयाँ छुट्याइएको छ।

बजेटअघि गाउँपालिका अध्यक्ष छब्बन खाँको तर्फबाट वडा नं. १ का अध्यक्ष मोहम्मद रजा राईले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। नीति तथा कार्यक्रममा कृषि तथा पशुपन्छी विकास, उद्योग–व्यवसाय प्रवर्द्धन, पर्यटन, श्रम तथा रोजगार, स्वास्थ्य तथा पोषण, शिक्षा, महिला तथा बालबालिका सशक्तीकरण, सामाजिक समावेशीकरण, विपद् व्यवस्थापन, जलवायु परिवर्तन अनुकूलन तथा योजनाबद्ध विकासलाई प्राथमिकता दिइएको छ।

गाउँपालिका प्रवक्ता टिका नाथ यादवले समृद्ध जानकी निर्माणका लागि सुशासन, विकास र नागरिकमैत्री सेवा प्रवाहमा सबै पक्षको साझा प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो। प्रमुख प्रशासकीय अधिकृत तथा सदस्य सचिव परशुराम उपाध्यायले पारित नीति तथा कार्यक्रम तथा बजेटले गाउँपालिकाको समग्र विकासलाई गति दिने विश्वास व्यक्त गर्नुभयो।
योजना शाखा प्रमुख शोभा पौडेलका अनुसार चालु आर्थिक वर्षमा हालसम्म चालुतर्फ २८ करोड ६० लाख ९ हजार ३८ रुपैयाँ र पुँजीगततर्फ ७ करोड ४९ लाख ९ हजार २६८ रुपैयाँ गरी कुल ३६ करोड ९ लाख १८ हजार ३०६ रुपैयाँ खर्च भइसकेको छ। उहाँले गाउँपालिकाको प्रशासकीय भवन निर्माण अन्तिम चरणमा पुगेको र चालु आर्थिक वर्षभित्रै सोही भवनबाट सेवा प्रवाह सुरु गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। साथै वडा नं. ३, ४ र ५ मा बर्थिङ सेन्टर सञ्चालनको तयारी पूरा भएको पनि उहाँले बताउनुभयो।
गाउँपालिका अध्यक्ष छब्बन खाँले गाउँसभा सफल बनाउन सहयोग गर्ने जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाप्रति धन्यवाद व्यक्त गर्दै पारित नीति तथा कार्यक्रम र बजेटको प्रभावकारी कार्यान्वयनमार्फत जनताको अपेक्षा पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो।
वरिष्ठ लेखा अधिकृत मतिन अहमद अन्सारीका अनुसार नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत रूपमा पारित भएको हो। गाउँसभामा छवटै वडाका अध्यक्ष, कार्यपालिका सदस्य, विषयगत शाखाका प्रमुख, सञ्चारकर्मी तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।

