०७, असार २०८३ आइतबार
बाँके, नेपालगञ्ज- नेपालगञ्ज उपमहानगरपालिका–२२ मा युवाहरूको नेतृत्व क्षमता, व्यक्तित्व विकास तथा प्रभावकारी सञ्चार सीप अभिवृद्धि गर्ने उद्देश्यले युवा नेतृत्व तथा क्षमता विकास सम्बन्धी तालिम सम्पन्न भएको छ।

वडा स्तरीय युवा क्लब सञ्जालको आयोजनामा सम्पन्न उक्त तालिमलाई नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर–२२ कार्यालयले सहयोग गरेको थियो।

कार्यक्रममा वडा नम्बर–२२ का अध्यक्ष अब्दुल गफार हल्वाई प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने वडा स्तरीय युवा क्लब सञ्जालका अध्यक्ष मिथलेश पासीले सभाध्यक्षता गर्नुभएको थियो।

कार्यक्रममा वडा सदस्य राधा कुमारी पासी शिष्ट अतिथि, वडा सदस्य केशव राम विशिष्ट अतिथि, नगर स्तरीय युवा क्लब सञ्जालका आनन्द कुमार वर्मा अतिथि तथा बिरजेश ठाकुर प्रशिक्षकका रूपमा सहभागी हुनुभएको थियो।

तालिमको उद्देश्य युवाहरूमा नेतृत्व क्षमता, व्यक्तित्व विकास, प्रभावकारी सञ्चार सीप तथा निर्णय गर्ने क्षमताको अभिवृद्धि गर्नु रहेको आयोजकले जनाएको छ।

तालिममार्फत युवाहरूलाई सामाजिक, शैक्षिक तथा विकास निर्माणका गतिविधिहरूमा सक्रिय सहभागिता जनाउन प्रेरित गर्नुका साथै समुदायमा सकारात्मक परिवर्तन ल्याउन सक्षम नेतृत्वको विकास गर्ने लक्ष्य राखिएको छ।

कार्यक्रममा वक्ताहरूले युवाहरूको आत्मविश्वास वृद्धि गर्दै उनीहरूलाई जिम्मेवार, सिर्जनशील तथा समाजप्रति उत्तरदायी नागरिकका रूपमा स्थापित गर्न यस्ता तालिम प्रभावकारी हुने बताएका थिए। सहभागी युवाहरूले तालिमबाट नेतृत्व विकास, समूहमा काम गर्ने क्षमता तथा समुदायमा सकारात्मक भूमिका निर्वाह गर्न आवश्यक ज्ञान र सीप प्राप्त भएको बताएका थिए।

आयोजक वडा स्तरीय युवा क्लब सञ्जालले आगामी दिनमा पनि युवामुखी तथा क्षमता अभिवृद्धिका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

