०६, असार २०८३ शनिबार
बाँके, नेपालगञ्ज — श्रम संस्कृति पार्टी बाँके जिल्ला समितिको आयोजनामा बाँकेको राप्तीसोनारी गाउँपालिका–५ बिनौनास्थित पिकनिक स्पोर्ट क्षेत्रमा वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा प्रकृतिप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा १३ प्रजातिका करिब ८०० बिरुवा रोपिएको जनाइएको छ।

जिल्ला संयोजक श्रीमान थापाको संयोजनमा सम्पन्न कार्यक्रममा श्रम संस्कृति पार्टी लुम्बिनी प्रदेश समिति उपाध्यक्ष ओमकार थापा मगर, सह-कोषाध्यक्ष रामचरण चौधरी, बाँके जिल्ला संगठन विभाग प्रमुख राजन राना मगर, जिल्ला सल्लाहकार गगन सिंह थापा, जिल्ला सचिव डण्ड प्रसाद शर्मा, जिल्ला कोषाध्यक्ष दिलबहादुर थापा, जिल्ला सल्लाहकार अशोक चौधरी, जिल्ला सदस्य दीपक लम्सालसहित पार्टीका अगुवा श्रमदाता तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको शुभारम्भ लुम्बिनी प्रदेश समिति उपाध्यक्ष ओमकार थापा मगर र जिल्ला श्रम संयोजक रामचरण चौधरीले संयुक्त रूपमा बेल र कटहरका बिरुवा रोपेर गर्नुभएको थियो। कार्यक्रममा फलफूल तथा वनजन्य विभिन्न प्रजातिका बिरुवाहरू रोपिएको बताइएको छ।

कार्यक्रममा सहभागी वक्ताहरूले वातावरण संरक्षणलाई आजको प्रमुख आवश्यकता भएको उल्लेख गर्दै वृक्षारोपणलाई अभियानकै रूपमा निरन्तर अघि बढाउनुपर्नेमा जोड दिएका थिए। साथै, रोपिएका बिरुवाको संरक्षण र नियमित हेरचाहमा स्थानीय समुदायको सक्रिय सहभागिता आवश्यक रहेको धारणा व्यक्त गरिएको थियो।
बाँके जिल्ला संगठन विभाग प्रमुख राजन राना मगरले प्रकृतिको संरक्षण तथा भावी पुस्ताका लागि स्वच्छ वातावरण निर्माण गर्ने उद्देश्यले सञ्चालन गरिएको वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको बताउँदै आगामी दिनमा पनि यस्ता सामाजिक तथा वातावरणीय अभियानलाई निरन्तरता दिइने जानकारी दिनुभयो।
श्रम, उत्पादन, वातावरण संरक्षण र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आएको श्रम संस्कृति पार्टीले सञ्चालन गरेको यो वृक्षारोपण अभियानलाई सहभागीहरूले उदाहरणीय सामाजिक अभियानका रूपमा लिएका छन्।

