५, असार २०८३ शुक्रबार
बाँके, नेपालगञ्ज — महिला पत्रकारहरूको व्यावसायिक दक्षता, नेतृत्व क्षमता तथा डिजिटल पत्रकारितासम्बन्धी सीप अभिवृद्धि गर्ने उद्देश्यले नेपालगञ्जमा तीनदिने क्षमता अभिवृद्धि तालिम सुरु भएको छ।

सामाजिक विकास डिभिजन कार्यालय नेपालगञ्जको सहयोग, क्रियाशील पत्रकार महिला बाँकेको समन्वय तथा बास नेपालको आयोजनामा सञ्चालन भएको तालिममा बाँकेका २५ जना सक्रिय महिला पत्रकारहरूको सहभागिता रहेको छ।

तालिमको उद्घाटन गर्दै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईंले बदलिँदो सञ्चार परिवेशमा महिला पत्रकारहरूको क्षमता विकास अपरिहार्य रहेको बताउँदै समय सान्दर्भिक विषयमा केन्द्रित यस तालिमले सहभागीहरूको कार्यदक्षता र पेशागत क्षमतामा थप निखार ल्याउने विश्वास व्यक्त गरे।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले महिला पत्रकारहरूका लागि यस्ता अवसर सिर्जना हुनु सकारात्मक पक्ष भएको उल्लेख गर्दै तालिमले उनीहरूको आत्मविश्वास, दक्षता तथा व्यावसायिकता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने बताए। उनले कार्यक्रम आयोजना गर्ने संस्थाहरूप्रति आभार व्यक्त गर्दै तालिमको सफलताको शुभकामना दिए।

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य तथा वरिष्ठ पत्रकार झलक गैरेले पत्रकारितामा अवसर र चुनौती दुवै बढिरहेको अवस्थामा महिला पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि आयोजना गरिएको तालिम स्वागतयोग्य रहेको बताए। उनले आचारसंहिताको पालना गर्दै तथ्यमा आधारित, निडर र व्यावसायिक पत्रकारिता गर्न सहभागीहरूलाई आग्रह गरे।

उद्घाटन कार्यक्रममा क्रियाशील पत्रकार महिला बाँकेकी संस्थापक अध्यक्ष अक्षरी पोख्रेल तथा अध्यक्ष सावित्री गिरीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार वर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यकारी निर्देशक नमस्कार शाहले स्वागत मन्तव्यसहित तालिमको उद्देश्यबारे जानकारी गराएका थिए भने कार्यक्रमको सञ्चालन केन्द्रीय महासचिव कल्पना अधिकारीले गरेकी थिइन्।

तालिमको पहिलो दिन नेतृत्व विकास, पत्रकारितामा महिलाको सहभागिता र आत्मविश्वास, खोजमूलक पत्रकारिता, सूचना नियन्त्रण तथा मोबाइल पत्रकारितासम्बन्धी विषयमा कृष्ण अधिकारी, अक्षरी पोख्रेल र हेमराज भट्टले सहजीकरण गरेका थिए।
महिला पत्रकारहरूको व्यावसायिक तथा प्राविधिक दक्षता अभिवृद्धि, डिजिटल पत्रकारिता र आधुनिक लेखन शैलीबारे व्यावहारिक ज्ञान प्रदान गर्ने, लैंगिक संवेदनशील रिपोर्टिङको सीप विकास गर्ने तथा मोफसलमा कार्यरत महिला पत्रकारहरूबीच सहकार्य र सञ्जाल विस्तार गर्ने उद्देश्यसहित सञ्चालन भएको उक्त तालिम असार ७ गतेसम्म जारी रहने आयोजकले जनाएको छ।

