०४, असार २०८३ बिहीबार
बाँके, नेपालगञ्ज – नेपाल उद्योग व्यापार महासंघअन्तर्गत उद्योगी व्यवसायी संघ, बाँके–नेपालगञ्ज उपमहानगरपालिका समितिको चौथो साधारण सभा तथा दोस्रो अधिवेशनबाट लोकतान्त्रिक प्रक्रियामार्फत आगामी कार्यकालका लागि नयाँ कार्यसमिति निर्वाचित भएको छ।

अधिवेशनबाट कविराम जैसी अध्यक्षमा निर्वाचित भएका छन्। त्यसैगरी जामिया खातुन उपाध्यक्ष, चक्रबहादुर मल्ल महासचिव, रन्जु श्रेष्ठ सचिव तथा लालसिंह भण्डारी कोषाध्यक्षमा निर्वाचित भएका छन्।

नवनिर्वाचित सदस्यहरूमा बसन्ती तिवारी, कोपिला पौडेल, शुसिला ढकाल, पदम विक, सावित्री थापा र चन्द्रप्रसाद संज्याल रहेका छन्।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै संघले पश्चिम नेपालकै प्रमुख आर्थिक केन्द्रका रूपमा रहेको नेपालगञ्जका उद्योगी तथा व्यवसायीहरूको हक, हित र अधिकारको संरक्षण गर्दै स्थानीय अर्थतन्त्रलाई थप चलायमान बनाउन नयाँ नेतृत्वले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ।

संघले विद्यमान आर्थिक चुनौतीका बीच उद्योगी तथा व्यवसायीका समस्यालाई सरकार र सम्बन्धित निकायसम्म प्रभावकारी रूपमा पुर्याउने, व्यावसायिक वातावरणलाई सुदृढ बनाउने तथा निजी क्षेत्रको एकतालाई अझ मजबुत बनाउने दिशामा नयाँ कार्यसमितिले सक्रिय भूमिका खेल्ने अपेक्षा पनि व्यक्त गरेको छ।
नवनिर्वाचित कार्यसमितिले उद्योगी तथा व्यवसायीहरूको साझा हितको संरक्षण र नेपालगञ्जको आर्थिक गतिविधिलाई थप गतिशील बनाउन प्रतिबद्धताका साथ काम गर्ने विश्वास व्यक्त गरिएको छ।

