०३ असार २०८३ बुधबार
बाँके, नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिका–५ नम्बर वडा कार्यालयको आयोजनामा आर्थिक वर्ष २०८३ अन्तर्गत एकमहिने ड्राइभिङ तालिम कार्यक्रम सुरु गरिएको छ।

वडाभित्रका युवायुवतीलाई सीपमूलक तालिममार्फत आत्मनिर्भर बनाउने तथा रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिममा १० जना युवायुवतीको सहभागिता रहेको छ। तालिमलाई मुनव्वर मोटर ड्राइभिङ सेन्टर, नेपालगञ्ज बाँकेको प्राविधिक सहयोग रहेको छ।
कार्यक्रममा वडा अध्यक्ष सराफत हुसैन शेष, वडा प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक शिखर खड्का, वडा सचिव महेश कुमार यादव तथा प्रशिक्षक आइसाल अहमद हल्वाईको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले सुरक्षित सवारी सञ्चालनका लागि ड्राइभिङ सीपको महत्व उल्लेख गर्दै तालिमबाट सहभागी युवायुवतीले व्यवहारिक ज्ञान र दक्षता हासिल गर्ने विश्वास व्यक्त गरे। उनीहरूले सीपमूलक तालिमले स्वरोजगार तथा रोजगारीका अवसर विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।
वडा कार्यालयले युवायुवतीलाई लक्षित गर्दै आगामी दिनमा पनि यस्ता सीपमूलक तथा रोजगारमुखी कार्यक्रम सञ्चालन गरिने जनाएको छ।

