०३ असार २०८३ बुधबार
बाँके, नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिका–१० नम्बर वडा कार्यालयद्वारा आयोजित वार्षिक योजना तर्जुमा, वडा भेला तथा सम्मान कार्यक्रम बुधबार सम्पन्न भएको छ।

आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक योजना तर्जुमा तथा प्रस्ताव संकलन गर्ने उद्देश्यले आयोजित भेलामा चालु आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति समीक्षा समेत गरिएको थियो।

नेपालगञ्जको विद्युत रोडस्थित आरबी ब्याङ्क्वेट हलमा आयोजित कार्यक्रममा वडा सचिव शान्ता घर्तीले वडा नम्बर १० का लागि नेपालगञ्ज उपमहानगरपालिकाबाट एक करोड १० लाख ७७ हजार रुपैयाँको बजेट सिलिङ प्राप्त भएको जानकारी दिनुभयो। उहाँले चालु आर्थिक वर्षमा सम्पन्न भएका योजना तथा आगामी वर्षका कार्यक्रम र योजनाबारे पनि प्रकाश पार्नुभयो।

कार्यक्रमका प्रमुख अतिथि नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले वडा भेलाले स्थानीयवासीका आवश्यकता, भावना र मागलाई समेटेर विकासका योजना तय गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। स्थानीयको सहभागिता र हातेमालो नै समग्र विकास तथा समृद्धिको आधार भएको उहाँको भनाइ थियो।
वडा अध्यक्ष श्रवणकुमार श्रेष्ठले स्थानीयको आवश्यकता र प्राथमिकतालाई केन्द्रमा राखेर आगामी कार्यक्रम तथा योजना निर्माण गरिने स्पष्ट पार्नुभयो। कार्यक्रममा वडा सदस्य विना थापा मगरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने वडा सदस्य दीपेन्द्र श्रेष्ठले वडाको समग्र विकासबारे जानकारी दिँदै सहभागीहरूले उठाएका जिज्ञासाको जवाफ दिनुभएको थियो।
भेलामा सहभागीहरूले आर्थिक वर्ष २०८३/०८४ का लागि सडक निर्माण, नाला निर्माण, सरसफाइ, बत्ती व्यवस्थापन तथा लागूऔषध नियन्त्रणलगायतका विषयलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएका थिए। उनीहरूले आफ्ना योजना तथा प्रस्ताव लिखित र मौखिक रूपमा प्रस्तुत गरेका थिए।
सो अवसरमा कर्मचारी, पूर्व कर्मचारी, निवृत्त स्वास्थ्य स्वयंसेविका, भृकुटी टोल विकास संस्था, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउने न्युरो अस्पताल, शंकर मेडिकल, आदर्श माध्यमिक विद्यालय, ज्येष्ठ नागरिक, समाजसेवीलगायत विभिन्न क्षेत्रका १९ जना व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो।
कार्यक्रममा जनप्रतिनिधि, वडा कार्यालयका कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, टोल विकास संस्थाका पदाधिकारी, नागरिक समाजका अगुवा, ज्येष्ठ नागरिक, बालबालिका तथा समाजसेवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

