३०, जेष्ठ २०८३ शनिबार
नेपालगन्ज, बाँके — नेपालगन्ज उपमहानगरपालिकाका १९ वटै वडाका क्रिकेट टोलीहरूको सहभागितामा ‘माननीय मिना कुमारी बोहरा सिद्दिकी टी–१० क्रिकेट प्रतियोगिता २०८३’ आयोजना हुने भएको छ।

प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आयोजक ज्योति स्पोर्ट्स एकेडेमी, नेपालगन्ज–बाँके ले प्रतियोगिताले नगरस्तरीय क्रिकेट गतिविधिलाई थप उचाइ दिने विश्वास व्यक्त गरेको छ।
आयोजकका अनुसार युवा खेलाडीहरूको प्रतिभा उजागर गर्ने, क्रिकेट खेलको विकासमा योगदान पुर्याउने तथा विभिन्न वडाबीच आपसी सद्भाव, एकता र खेल संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।

प्रतियोगितामा विजेता टोलीलाई नगद ३ लाख रुपैयाँ तथा उपविजेता टोलीलाई २ लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। प्रतियोगिता सफल बनाउन नेपालगन्ज उपमहानगरपालिका–५ का युवा नेता तथा समाजसेवी अस्फाक अन्सारी को विशेष पहल, सक्रियता र समन्वय रहेको आयोजकले जनाएको छ।

प्रतियोगिताको उद्घाटन जेठ ३१ गते आइतबार बिहान १० बजे नेपालगन्जस्थित एम.पी. स्कूलको खेल मैदानमा हुने तय गरिएको छ। उद्घाटन समारोहमा खेलप्रेमी, खेलाडी, शुभेच्छुक तथा सरोकारवालाहरूलाई उपस्थित भई कार्यक्रमको गरिमा बढाउन आयोजकले आग्रह गरेको छ।
प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा राजा खान विइङ ह्युम्यान संस्थाका अध्यक्ष मोहम्मद अरसद शेष, बाँके जिल्ला क्रिकेट संघका सदस्य इनामुद्दिन हल्वाई तथा विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको उपस्थिति रहेको थियो।

आयोजक ज्योति स्पोर्ट्स क्लब ले प्रतियोगिताले स्थानीय स्तरमा लुकेर रहेका प्रतिभावान क्रिकेट खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास व्यक्त गरेको छ। १९ वटै वडाका टोलीहरूबीच हुने प्रतिस्पर्धालाई नेपालगन्जको क्रिकेट इतिहासकै एक महत्वपूर्ण खेल महोत्सवका रूपमा हेरिएको छ।


