१६, जेष्ठ २०८३ शनिबार
बाँके, नेपालगञ्ज – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–५ का समाजसेवी अजिज मलिक समाजसेवाको नाम मात्र नभई मानवताको जिउँदो उदाहरणका रूपमा परिचित छन्। दुःख, पीडा र अभावमा परेका मानिसहरूको सहारा बन्दै आएका उहाँका कार्यहरूले स्थानीय समाजमा विशेष छाप छोडेको छ।

कडा जाडोका दिनहरूमा सडक, गल्ली तथा खुला आकाशमुनि चिसोमा रात बिताउन बाध्य गरिब तथा असहाय व्यक्तिहरूलाई आफ्नै पहलमा कम्बल वितरण गर्दै उहाँले न्यानोपन बाँड्नुभएको थियो। उहाँले वितरण गरेका कम्बल केवल राहत सामग्री मात्र नभई मानवताको स्पर्श र आशाको सन्देश बनेका थिए।

अजिज मलिकको सेवा भावना जीवनका कठिनतम क्षणहरूमा समेत देख्न सकिन्छ। आर्थिक अभावका कारण अन्तिम संस्कार गर्न समस्या झेलिरहेका परिवारहरूलाई उहाँले मलामीदेखि किरिया–कर्मसम्मको खर्च व्यवस्थापन गरेर साथ दिनुभएको छ। यस्तो सहयोगले शोकमा डुबेका परिवारलाई ठूलो राहत र आत्मबल प्रदान गरेको स्थानीयवासी बताउँछन्।

उहाँ अस्पतालमा उपचाररत बिरामीहरूलाई भेटेर फलफूल वितरण गर्ने, आकस्मिक अवस्थामा रगत आवश्यक परे व्यवस्थापन गरिदिने, अनाथ आश्रमहरूमा आवश्यक सामग्री उपलब्ध गराउने तथा धार्मिक सद्भाव कायम राख्दै मस्जिद र मन्दिर दुवैमा सहयोग पुर्याउने कार्यमा निरन्तर सक्रिय रहनुभएको छ।
मानिस मात्र होइन, बेजुबान जनावरहरूको पीडाप्रति पनि संवेदनशील बनेर उहाँले विभिन्न सहयोगात्मक गतिविधिहरू सञ्चालन गर्दै आउनुभएको छ। उहाँका यी कार्यहरूले समाजमा दया, करुणा, सहानुभूति र निस्वार्थ सेवाको भावना अझै जीवित रहेको सन्देश प्रवाह गरेको छ।
स्थानीयवासीका अनुसार अजिज मलिकले जात, धर्म, वर्ग वा समुदायको भेदभाव नगरी मानव सेवालाई प्राथमिकता दिँदै आउनुभएको छ। उहाँका यस्ता उदाहरणीय कार्यहरूले समाजमा सकारात्मक सन्देश फैलाउनुका साथै धेरैलाई सामाजिक सेवामा प्रेरित गरिरहेको छ।

मानवताभन्दा ठूलो धर्म केही हुँदैन भन्ने भनाइलाई व्यवहारमै प्रमाणित गर्दै आएका समाजसेवी अजिज मलिक आज नेपालगञ्जमा पीडितका सहारा, असहायका अभिभावक तथा मानव सेवाका प्रेरणादायी पात्रका रूपमा स्थापित भएका छन्।

