जीवनशैली, भर्खरै, समाचार, समाचार, स्वास्थ

गणतन्त्र दिवसमा धनौली चौकीमा बृहत् स्वास्थ्य शिविर, २९० बढी लाभान्वित

१५, जेष्ठ २०८३ शुक्रबार 

बाँके, नेपालगञ्ज – गणतन्त्र दिवसको अवसर पारेर बाँकेको खजुरा गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय धनौलीमा आयोजित बृहत् निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम प्रभावकारी रूपमा सम्पन्न भएको छ ।

लाइफलाइन हस्पिटल प्रा.लि. नेपालगञ्जको आयोजनामा तथा इलाका प्रहरी कार्यालय धनौली, नेपाल चिकित्सक संघ बाँके र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा सम्पन्न कार्यक्रममा २९० भन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिक ‘तुफान’ रहेका थिए भने विशेष अतिथिका रूपमा खजुरा गाउँपालिका उपाध्यक्ष मञ्जु मल्ल, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अगुर जिसी, भेरी अस्पताल डायलोसिस युनिट इन्चार्ज तथा मिर्गौला रोग विशेषज्ञ डा. पारस श्रेष्ठ र इलाका प्रहरी कार्यालय धनौलीका प्रमुख प्रहरी निरीक्षक नबिनप्रकाश चापागाईंको उपस्थिति रहेको थियो ।

शिविरमा निःशुल्क स्वास्थ्य जाँच, रगत परीक्षण, विशेषज्ञ चिकित्सकीय परामर्श तथा औषधि वितरण गरिएको थियो । आयोजकका अनुसार विशेषगरी आँखासम्बन्धी समस्या भएका करिब ९० जना बिरामीको आँखा परीक्षण गरिएको थियो भने ८५ भन्दा बढी बिरामीको निःशुल्क प्रयोगशाला परीक्षणसमेत गरिएको थियो ।

त्यसैगरी गणतन्त्र दिवसकै अवसरमा आयोजित बृहत् रक्तदान कार्यक्रममा २२ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा स्थानीयवासी, प्रहरी कर्मचारी, स्वास्थ्यकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

Advertisement

लाइफलाइन हस्पिटल प्रा.लिका प्रबन्ध निर्देशक तथा दन्त चिकित्सक डा. प्रतिक श्रेष्ठले पछिल्लो समय नसर्ने रोगहरू प्रकोपकै रूपमा बढ्दै गएको उल्लेख गर्दै नियमित स्वास्थ्य परीक्षणको अभावमा धेरै व्यक्ति विभिन्न रोगको सिकार भइरहेको बताए ।

स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्न तथा परीक्षणको पहुँच विस्तार गर्ने उद्देश्यले शिविर आयोजना गरिएको उनले जानकारी दिए ।

Advertisement

शिविरमा मुटुरोगका बिरामीहरूको परीक्षण भेरी अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. बिपिन आचार्यले गरेका थिए भने मिर्गौला रोगसम्बन्धी सेवा भेरी अस्पतालका फिजिसियन तथा मिर्गौला रोग विशेषज्ञ डा. पारस श्रेष्ठले प्रदान गरेका थिए ।

त्यसैगरी दन्त चिकित्सक डा. प्रतिक श्रेष्ठ, फिजिसियन डा. क्रिस्टिन नामोक श्रेष्ठ, ईएनटी सर्जन डा. कपिल शाही, कन्सल्टेन्ट फिजिसियन डा. प्रकाश नाग, हाडजोर्नी रोग विशेषज्ञ डा. राहुल मिश्र, मेडिकल अफिसर संकल्प सिग्देल, मूत्ररोग विशेषज्ञ डा. प्रविन गुप्ता तथा फिजियोथेरापिस्ट बिहानी श्रेष्ठलगायतको चिकित्सक टोली शिविरमा खटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0