११, जेष्ठ २०८३ सोमबार
नेपालगञ्ज, बाँके – पछिल्लो समय जन्मदिन, वैवाहिक वर्षगाँठ तथा अन्य उत्सवहरू महँगा होटल र रेष्टुरेन्टमा तडकभडकका साथ मनाउने प्रवृत्ति बढिरहेका बेला नेपालगञ्जकी सञ्चारकर्मी सपना ताम्राकारले मानवता र सामाजिक उत्तरदायित्वको प्रेरणादायी उदाहरण प्रस्तुत गरेकी छन्।

नेपालगञ्ज उपमहानगरपालिका–१३ निवासी ताम्राकारले आफ्नो जन्मदिनको अवसरमा नेपालगञ्ज–९ स्थित नीलसागर सेवा आश्रम पुगेर आश्रित असहाय, बेसहारा तथा मानसिक स्वास्थ्य समस्याबाट पीडित आमाबुवाहरूलाई भोजन सेवा गराउँदै जन्मोत्सव मनाएकी हुन्।

सोमबार परेको आफ्नो जन्मदिनमा उनले नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष करुणा शाह (महारानी) लगायत परिवारका सदस्यहरूसँग आश्रम पुगेर सेवा कार्यमा सहभागी भइन्।

आश्रममा आश्रित २५९ जनालाई आफ्नै हातले भोजन गराउँदै उनले जन्मदिनलाई केवल उत्सव नभई मानव सेवासँग जोड्ने प्रयास गरिन्। सेवा र सद्भावले भरिएको उक्त दृश्यले उपस्थित सबैलाई भावुक बनाएको थियो।

जन्मदिनमा हुने अनावश्यक खर्चलाई समाजसेवामा लगाउनु नै साँचो खुसी भएको बताउँदै ताम्राकारले भनिन्, “होटलमा हजारौँ रुपैयाँ खर्च गरेर रमाइलो गर्नुभन्दा आश्रममा रहेका असहाय आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीलाई एक छाक भोजन गराउन पाउँदा आत्मिक सन्तुष्टि मिल्छ। यस्ता अवसरमा सबैले सेवा र सहयोगतर्फ पनि ध्यान दिनुपर्छ।”

आश्रमकी डाक्टर सरिता खनालका अनुसार पछिल्ला वर्षहरूमा जन्मदिन, पुण्यतिथि तथा विभिन्न विशेष अवसरमा आश्रममै पुगेर सहयोग गर्ने व्यक्तिहरूको संख्या बढ्दै गएको छ। सडकबाट उद्धार गरिएका बेवारिसे, असहाय तथा मानसिक सन्तुलन गुमाएका व्यक्तिहरूलाई आश्रय र सेवा प्रदान गर्दै आएको आश्रमले दीर्घकालीन व्यवस्थापनका लागि “आश्रय कोष” समेत सञ्चालनमा ल्याएको उनले जानकारी दिइन्।
भोजभतेर, प्रदर्शन र तडकभडकलाई प्रतिष्ठाको विषय बनाउने प्रवृत्ति बढिरहेका बेला सपना ताम्राकारको यो कदमले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको छ। जन्मदिनलाई केवल मनोरञ्जन र खर्चको माध्यम नभई मानव सेवा, करुणा र सामाजिक उत्तरदायित्वसँग पनि जोड्न सकिन्छ भन्ने उदाहरण उनले व्यवहारमै प्रस्तुत गरेकी छन्।
बढ्दो प्रदर्शनमुखी संस्कृतिबीच ताम्राकारको यो मानवीय कार्यले सेवा, संवेदना र सामाजिक उत्तरदायित्वको भावना अझ बलियो बनाएको छ।

