२७, बैशाख २०८३ आइतबार
काठमाडौं – काठमाडौंस्थित कास्मिरी मस्जिदमा नेपालीपन, धर्मप्रतिको आस्था र राष्ट्रिय गौरवले भरिएको विशेष क्षणको साक्षी बन्यो। समाजसेवी अज़िज मलिक को नेतृत्वमा हज यात्रामा प्रस्थान गर्न लाग्नुभएका नेपाली हाजीहरूसँग आत्मीय भेटघाट, शुभकामना तथा दुआ आदान–प्रदान कार्यक्रम भावुक वातावरणमा सम्पन्न भयो।

कार्यक्रममा हज यात्रुहरूलाई मायाको चिनोस्वरूप नेपाली टोपी प्रदान गर्दै पवित्र भूमि मक्का–मदिनामा समेत नेपाली पहिचानलाई गर्वका साथ प्रस्तुत गर्न आग्रह गरिएको थियो। “जहाँ पुगे पनि नेपाली संस्कार, संस्कृति र राष्ट्रिय पहिचानलाई कहिल्यै नबिर्सनुहोस्” भन्ने सन्देशसहित प्रदान गरिएको नेपाली टोपीले कार्यक्रममा थप भावनात्मक माहोल सिर्जना गरेको थियो।

धार्मिक आस्था र मातृभूमिप्रतिको सम्मान एकसाथ झल्किएको यस पहलले हज यात्रुहरू मात्र होइन, उपस्थित सबैलाई भावुक बनाएको थियो।

कार्यक्रममा सहभागीहरूले “देश टाढा भए पनि नेपालीपन कहिल्यै टाढा हुँदैन” भन्ने सन्देशलाई आत्मसात गर्दै यो अभियान नेपाली पहिचानलाई विश्वसामु चिनाउने प्रेरणादायी कदम भएको बताएका छन्।

