०२, जेष्ठ २०८३ शनिबार
बाँके, — बाँकेको जानकी गाउँपालिका मा आयोजित तेस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगिताको उपाधि रमवापुर स्पोर्ट्स क्लबले जितेको छ। शुक्रबार जानकी गाउँपालिका–३ स्थित कन्या माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न फाइनल खेलमा रमवापुरले मानपुर राइजिङ क्लबलाई पाँच विकेटले पराजित गर्दै उपाधि हात पारेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको रमवापुर स्पोर्ट्स क्लबले निर्धारित १० ओभरमा ९ विकेट गुमाउँदै ९९ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको मानपुर राइजिङ क्लब लक्ष्य भेट्टाउन असफल भएपछि रमवापुर विजयी बनेको हो।

समापन समारोहलाई सम्बोधन गर्दै छब्बन खाँ ले नेपालमा क्रिकेटप्रतिको आकर्षण दिनप्रतिदिन बढ्दै गएको र नेपाली खेलाडीले अन्तर्राष्ट्रिय स्तरमा सफलता हासिल गरिरहेको बताउनुभयो। उहाँले उपाधि जित्दै पालिकाको प्रतिष्ठा उचो बनाएको भन्दै रमवापुर स्पोर्ट्स क्लबका खेलाडीको मेहनत, समर्पण र खेलभावनाको प्रशंसा गर्नुभयो।

अध्यक्ष खाँले यस्ता प्रतियोगिताले युवालाई खेल क्षेत्रमा व्यावसायिक रूपमा अघि बढ्न प्रेरणा दिने उल्लेख गर्दै आगामी दिनमा पनि गाउँपालिकाले खेलकुदलाई प्राथमिकतामा राखेर थप प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सामाजिक विकास समितिका संयोजक राम अचल धोबी ले खेलकुदमार्फत राष्ट्रको पहिचान विश्वसामु स्थापित गर्न सकिने बताउँदै क्रिकेटसँगै अन्य खेललाई पनि प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो।
त्यस्तै खेलकुद शाखा प्रमुख तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णाकुमारी भण्डारी ले खेलाडीको शारीरिक तथा मानसिक विकासमा यस्ता प्रतियोगिताको महत्वपूर्ण भूमिका रहने बताउँदै क्रिकेट क्षेत्रमा अझ बढी लगानी आवश्यक रहेको बताउनुभयो।

प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई नगद पुरस्कारसहित सिल्ड प्रदान गरिएको थियो। प्रथम हुने टोलीले ५० हजार रुपैयाँ तथा उपविजेताले २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका थिए।
कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष राजकुमार बर्मा, सूचना प्रविधि अधिकृत विकास जिसी, प्रहरी वरिष्ठ नायब निरीक्षक लोकेन्द्रबहादुर कार्की, कन्या माध्यमिक विद्यालयकी प्रधानाध्यापक मालतीकुमारी शाही, सहायक शिक्षा अधिकृत झुमी ओली तथा अध्यक्षका निजी सल्लाहकार सोहराब इद्रीसी लगायतले विजेता खेलाडीलाई बधाई तथा शुभकामना दिएका थिए।
गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सम्पन्न प्रतियोगितामा गाउँपालिकाभित्रका १६ वटा क्रिकेट टोलीको सहभागिता रहेको थियो। तीन दिनसम्म सञ्चालन भएको प्रतियोगिताले स्थानीय युवामा खेलप्रतिको उत्साह थपिएको आयोजकले जनाएको छ।

