२४, बिहिवार २०८३ बैशाख
बाँके नेपालगञ्ज – जय बागेश्वरी आवासीय उच्च माध्यमिक विद्यालय परिसरभित्र भएको भौतिक संरचनामा डोजर प्रवेश गरी क्षति पुगेको विषयमा पत्रकार सम्मेलन गर्दै आफ्नो धारणा सार्वजनिक गरेको छ ।

विद्यालय प्रशासनका अनुसार हिजो मिति २०८३/०१/२३ गते नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, जो सोही विद्यालयका पूर्वविद्यार्थीसमेत हुन्, विद्यालयको पश्चिमतर्फको कम्पाउण्ड संरचना भत्काएर डोजरसहित परिसरभित्र प्रवेश गरेका थिए । सो क्रममा करिब एक करोड रुपैयाँ लागतमा निर्माण गरिएको गाडी सेड, विद्यार्थीहरूको क्रिकेट खेल मैदान तथा नेट पोलमा क्षति पुगेको विद्यालयले जनाएको छ ।

विद्यालयका अनुसार डोजर प्रवेशपछि करिब एक घण्टासम्म परिसर तनावग्रस्त बनेको थियो । त्यसपछि स्थानीयवासी तथा विद्यालय परिवारको विरोधपछि डोजर फिर्ता गरिएको दाबी गरिएको छ ।
पत्रकार सम्मेलनमा विद्यालयले २०५२ सालमा घनश्याम वैश्यबाट २३ कठ्ठा जमिन खरिद गरिएको जानकारी दिएको छ । हाल कम्पाउण्डभित्र १९ कठ्ठा जमिन रहेको र तीनवटा लालपुर्जामार्फत १८ कठ्ठा जग्गा स्पष्ट भएको विद्यालयको भनाइ छ । बाँकी १ कठ्ठा साढे ९ धुर जग्गाको प्रक्रिया अन्तिम चरणमा रहेको पनि उल्लेख गरिएको छ ।

विद्यालयका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाले सोही कम्पाउण्डभित्र तीनवटा भवनको नक्सा पास गरिसकेको छ । १ विघा १ कठ्ठा ७ धुर क्षेत्रफल समेटिएको नक्सा स्वीकृत भइसकेको अवस्थामा नाली सम्बन्धी विषयलाई लिएर पछिल्लो विवाद सिर्जना भएको विद्यालयले जनाएको छ ।

विद्यालय प्रशासनले नापी कार्यालयले देखाएको नाली ५० वर्षदेखि प्रयोगविहीन रहेको तथा सो सम्बन्धमा अदालतका विभिन्न तहबाट निर्णय भइसकेको दाबी गरेको छ । साथै, सो नाली पश्चिमतर्फ सारिएको सम्बन्धमा कानुनी दस्तावेजहरू विद्यमान रहेको विद्यालयको भनाइ छ ।

विद्यालयले हाल जिल्ला अदालतमा निषेधाज्ञा मुद्दा (०८२-WO-०००७) विचाराधीन रहेको अवस्थामा डोजर प्रयोग हुनु कानुनी प्रक्रियाविपरीत भएको उल्लेख गरेको छ । मुद्दा चलिरहेको समयमा संरचनामा हस्तक्षेप हुनु न्यायिक प्रक्रिया र सम्पत्ति अधिकार दुवैप्रति प्रश्न उठाउने विषय भएको विद्यालयको भनाइ छ ।
विद्यालय प्रशासनले कुनै पूर्वसूचना, लिखित अनुमति वा कानुनी प्रक्रिया बिना विद्यालय परिसरमा प्रवेश गरी संरचनामा क्षति पुर्याइएकोले यसको क्षतिपूर्तिका लागि कानुनी उपचार खोजिने जनाएको छ ।

विद्यालयका अनुसार करिब २५ मिटर लम्बाइ र ११ मिटर चौडाइको गाडी सेड तथा १४ मिटर उचाइ र ५ मिटर चौडाइको क्रिकेट नेट पोलमा क्षति पुगेको छ । विद्यालयले घटनालाई गम्भीर रूपमा लिँदै आवश्यक कानुनी प्रक्रिया अघि बढाउने तयारी गरेको जनाएको छ ।

