जीवनशैली, भर्खरै, मनोरञ्जन, समाचार, समाचार

लोक संस्कृतिको संरक्षणका लागि नेपालगन्जमा विद्यालयस्तरीय नृत्य प्रतियोगिता

२४, बैशाख २०८३ बिहिवार 

ग्रीस गुप्ता 

बाँके, नेपालगन्ज – बाँके कलाकेन्द्र नेपालगन्जले नेपालगन्ज उप-महानगरपालिकाको आर्थिक सहयोगमा ‘प्रथम मेयर सांस्कृतिक कप (अन्तर माध्यमिक विद्यालय स्तरीय सामूहिक लोक नृत्य प्रतियोगिता–२०८३)’ आयोजना गर्ने भएको छ । गणतन्त्र दिवसको अवसर पारेर आयोजना गर्न लागिएको उक्त प्रतियोगिता आगामी २०८३ साल ज्येष्ठ १५ गते सुनाखरी रेस्टुरेन्ट एण्ड पार्टी प्यालेस, बी.पी.चोक नेपालगन्जमा बिहान ११ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ ।


कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बाँके कलाकेन्द्रले नेपालगन्ज उप-महानगरपालिका भित्र रहेका सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई एउटै सांस्कृतिक मञ्चमा जोड्दै नेपाली मौलिक कला, संस्कृति र पहिचानलाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जनाएको छ ।


प्रतियोगितामा कक्षा ६ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरुले सहभागिता जनाउन पाउनेछन् । विभिन्न जातजातिका मौलिक संस्कृति झल्किने सामूहिक लोक नृत्य प्रस्तुत गरिने प्रतियोगितामा प्रत्येक समूहमा न्यूनतम ६ जना र अधिकतम १२ जना कलाकार रहने व्यवस्था गरिएको छ ।


प्रतियोगितामा उत्कृष्ट हुने समूहलाई आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ । प्रथम हुने समूहले करकट्टीपछि नगद रु. ५१ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने समूहलाई रु. ३९ हजार र तेस्रो हुने समूहलाई रु. २१ हजार नगदसहित ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । साथै सहभागी सबै समूहलाई प्रमाणपत्र प्रदान गरिनेछ ।

Advertisement

कार्यक्रममा नेपालगन्जमा बसेर कलाकारिता क्षेत्रमा विशेष योगदान पुर्‍याएका एक जना वरिष्ठ कलाकारलाई दोसल्ला, सम्मानपत्र तथा नगद रु. ५ हजारसहित विशेष सम्मान गरिने पनि जनाइएको छ । प्रतियोगिताको बीच–बीचमा बाँके कलाकेन्द्रका कलाकारहरुको सांस्कृतिक प्रस्तुति समेत रहनेछ ।
प्रतियोगितामा सहभागी हुन सामुदायिक विद्यालयका लागि रु. २ हजार ५ सय तथा संस्थागत विद्यालयका लागि रु. ३ हजार ५ सय दर्ता शुल्क निर्धारण गरिएको छ ।

आयोजकका अनुसार कार्यक्रम सञ्चालनका लागि कुल रु. ३ लाख ३० हजार बजेट अनुमान गरिएको छ । जसमध्ये नेपालगन्ज उप-महानगरपालिकाबाट रु. ३ लाख सहयोग प्राप्त भएको छ भने बाँके कलाकेन्द्रले रु. ३० हजार व्यहोर्ने जनाएको छ ।

कार्यक्रम सञ्चालन तथा व्यवस्थापनको संयोजकमा बाँके कलाकेन्द्रका उपाध्यक्ष बिरेन्द्र यादवलाई जिम्मेवारी दिइएको छ । आयोजकले कार्यक्रममा सञ्चारमाध्यमहरुको सक्रिय सहयोग र समाचार सम्प्रेषणमार्फत कार्यक्रमलाई सफल बनाउन आग्रह समेत गरेको छ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0