भर्खरै, समाचार, समाचार, स्वास्थ

बेलासपुरमा ब्रतबन्धको भोजपछि रक्तपात : साथीको विवादले लियो युवकको ज्यान, ६ जना प्रहरी नियन्त्रणमा

२४, बैशाख २०८३ बिहीबार 

बाँके, नेपालगञ्ज — बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१२ बेलासपुरमा ब्रतबन्ध कार्यक्रममा भएको सामान्य भनाभनले भयावह रूप लिँदा एक युवकको ज्यान गएको छ। घटनामा संलग्न भएको आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पक्राउ पर्नेहरूमा कैलाली लम्कीचुहा नगरपालिका–१ का १९ वर्षीय दीपेन्द्रराज गिरी, २० वर्षीय बिबीएस कुँवर, १८ वर्षीय सुशील खत्री, २० वर्षीय खकेन्द्र देवकोटा, कालीकोटका १८ वर्षीय सन्तोष सन्ज्याल तथा सुर्खेतका २० वर्षीय रुपेश थापा रहेका छन्।

प्रहरीका अनुसार नेपालगञ्ज–१२ स्थित प्रितम अधिकारीको घरमा ब्रतबन्ध कार्यक्रम भइरहेका बेला बस्ने ठाउँ अभाव भएपछि केही युवकहरू छिमेकीको घरमा गएर रमाइलो गरिरहेका थिए। सोही क्रममा दीपेन्द्रराज गिरी र खजुरा गाउँपालिका–६ का २२ वर्षीय विशालचन्द ठकुरीबीच विवाद सुरु भएको थियो।

Advertisement

विवाद चर्किँदै जाँदा ठकुरीमाथि चक्कु तथा धारिलो हतियार प्रहार गरिएको प्रहरीको भनाइ छ। कोठाबाट भाग्न खोज्दा समेत उनलाई लखेटेर आक्रमण गरिएको थियो। गम्भीर घाइते ठकुरीको उपचारका क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि अभियुक्तहरू बर्दियातर्फ फरार भएका थिए। प्रहरीका अनुसार उनीहरूले ठाकुरद्वार क्षेत्रमा पाँच घण्टाभित्र दुई होटल परिवर्तन गर्दै मोटरसाइकल, हायस र निजी कार प्रयोग गरी भाग्ने प्रयास गरेका थिए। तर प्रहरीले घटनाको सूचना पाएको करिब दश घण्टामै सबैलाई पक्राउ गर्न सफल भएको जनाएको छ।

घटनास्थलबाट प्रहरीले एक थान चक्कु, एनएस २०० मोटरसाइकल र सिसाका बोतल बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0