२४, बैशाख २०८३ बिहीबार
कोहलपुर, बाँके — बाँकेमा आगामी २६ वैशाखमा अन्तरविद्यालय स्तरीय राष्ट्रिय पौडी प्रतियोगिता आयोजना हुने भएको छ। शिखा एकेडेमी कोहलपुर र नेपालगन्ज स्वीमिङ क्लबको संयुक्त आयोजनामा दोस्रो शिखा अन्तरविद्यालय स्वीमिङ च्याम्पियनसीप २०८३ हुन लागेको हो।

मंगलबार कोहलपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा देशभरका १८ विद्यालयका एक सयभन्दा बढी खेलाडी सहभागी हुने निश्चित भइसकेको जानकारी खेल संयोजक सूर्यमणि अधिकारीले दिनुभयो।

प्रतियोगितामा ८, १०, १२, १४, १७ तथा सोभन्दा माथिका उमेर समूहका छात्र–छात्राबीच पौडीका २४ वटा इभेन्टमा प्रतिस्पर्धा हुने प्राविधिक संयोजक चन्द्रराम चौधरीले बताउनुभयो। ८ र १० वर्षमुनिका खेलाडीले २५ मिटर तथा सोभन्दा माथिका उमेर समूहले ५० र १०० मिटर दूरीमा प्रतिस्पर्धा गर्नेछन्।

खेलाडीहरूले फ्रि–स्टाइल, ब्याक–स्ट्रोक, ब्रेस्ट–स्ट्रोक र बटरफ्लाइ गरी चार विधामा सहभागिता जनाउन सक्नेछन्।
शिखा एकेडेमीका प्रधानाध्यापक ई. राजीव सुवेदी, कार्यक्रम संयोजक सूर्यमणि अधिकारी तथा नेपालगन्ज स्वीमिङ क्लबका अध्यक्ष केशवराज न्यौपानेद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिअनुसार काठमाडौं, ललितपुर, रुपन्देही, दाङ, बाँके, बर्दिया र सुर्खेत लगायत जिल्लाका विद्यालयहरूको सहभागिता सुनिश्चित भइसकेको छ।

कार्यक्रम संयोजक सूर्यमणि अधिकारीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा प्रधानाध्यापक ई. राजीव सुवेदीले स्वागत मन्तव्य राख्नुभएको थियो भने पौडी प्रशिक्षक चन्द्रराम चौधरीले प्रतियोगिताको प्राविधिक पक्षबारे जानकारी गराउनुभएको थियो।
शिखा एकेडेमी कोहलपुरले गत वर्ष नेपालगन्ज स्वीमिङ क्लबको समन्वयमा पहिलो शिखा अन्तरविद्यालय पौडी प्रतियोगिता आयोजना गरेको थियो। विद्यालयले पछिल्लो चार वर्षदेखि १२.५/२५ मिटरको पौडी पोखरी सञ्चालन गर्दै नियमित रूपमा विद्यार्थीलाई पौडी प्रशिक्षण दिँदै आएको छ।
गत वर्ष सम्पन्न बाँके जिल्ला स्तरीय तथा लुम्बिनी प्रदेश स्तरीय पौडी प्रतियोगितामा शिखा एकेडेमी प्रथम भएको थियो भने राष्ट्रिय पौडी प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको थियो।
बाँकेमा आयोजना हुन लागेको दोस्रो शिखा अन्तरविद्यालय स्वीमिङ च्याम्पियनसीपबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलन।

