जीवनशैली, भर्खरै, मनोरञ्जन, राजनीति, समाचार, समाचार

‘लालीबजार’ विरुद्ध बादी समुदाय आक्रोशित: प्रदर्शन रोक्न माग, निर्माता–निर्देशकलाई कारबाहीको चेतावनी

२०, बैशाख २०८३ आइतबार 

बाँके नेपालगञ्ज — सामाजिक पीडालाई व्यापारको माध्यम बनाउँदै आपत्तिजनक ढंगले प्रस्तुत गरिएको आरोप लगाउँदै बादी समुदायले ‘लालीबजार’ चलचित्रको प्रदर्शनमा प्रतिबन्ध लगाउन माग गरेको छ। आइतबार नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा समुदायका अगुवाहरूले चलचित्रलाई कुनै पनि हालतमा प्रदर्शन हुन नदिने चेतावनी दिएका हुन्।


पत्रकार सम्मेलनमा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य सुशिला बादी, राष्ट्रिय वादी सञ्जाल नेपालका केन्द्रीय अध्यक्ष केशव नेपाली लगायतले चलचित्रले समुदायको आत्मसम्मानमा गम्भीर चोट पुर्‍याएको आरोप लगाए। उनीहरूले ‘लालीबजार’ का कार्यकारी निर्माता प्रदीप भट्टराई, निर्माता रविन्द्र सिंह बानियाँ र निर्देशक यम थापामाथि कानुन बमोजिम कारबाही गर्न माग गरेका छन्।


समुदायका प्रतिनिधिहरूका अनुसार विगतमा केही परिवारमा देखिएको यौन शोषणको घटनालाई आधार बनाई सम्पूर्ण समुदायको पहिचानलाई विकृत बनाउने प्रयास गरिएको छ। “चलचित्रमा आपत्तिजनक दृश्य र संवादमार्फत हाम्रो समाज र विशेषगरी महिलाहरूको इज्जतको खिल्ली उडाइएको छ,” उनीहरूको भनाइ छ।

कार्यक्रममा सहभागी बादी अगुवाहरू मञ्जु नेपाली, बसन्ती नेपाली, कल्पना नेपाली, अभिषेक नेपाली, एकता नेपाली लगायतले चलचित्रले आफ्नो समुदायको सामाजिक, मानसिक तथा शारीरिक रूपमा अपमान गरेको दाबी गरे। उनीहरूले यस्तो सामग्रीले समुदायमाथि दीर्घकालीन नकारात्मक प्रभाव पार्ने चेतावनी दिएका छन्।

Advertisement

यसैबीच, ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै बादी समुदायका अगुवाहरूले उच्च अदालत पाटनमा रिट दायर गरेका छन्। सो रिटमाथि सुनुवाइ गर्दै अदालतले चलचित्रको प्रदर्शन २२ गतेसम्मका लागि रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। डा. रोशनी नेपाली वादीसहित केही अभियन्ताहरूले दायर गरेको निवेदनमा चलचित्रले बादी समुदायलाई नैतिक, सामाजिक तथा व्यवहारिक रूपमा गलत चित्रण गरेको उल्लेख गरिएको छ।

बादी समुदायले चलचित्रले आफ्नो सृजना, कला, संस्कृति, पहिचान, संघर्ष र इतिहासलाई कुल्चेर चरित्र हत्या गर्ने प्रयास गरेको आरोप लगाउँदै तत्काल प्रदर्शन रोक्न र सम्बन्धित पक्षमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
2
+1
0

Advertisement