२०, बैशाख २०८३ आइतबार
नेपालगन्ज, बाँके — ‘लालीबजार’ चलचित्रविरुद्ध वादी समुदायले कडा विरोध जनाउँदै कुनै पनि हालतमा प्रदर्शन हुन नदिने चेतावनी दिएको छ। नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमार्फत समुदायका अगुवा, नेतृत्वकर्ता तथा सामाजिक अभियन्ताहरूले चलचित्रले आफ्नो पहिचानलाई विकृत र अपमानजनक ढंगले प्रस्तुत गरेको आरोप लगाए।
राष्ट्रिय वादी सञ्जाल नेपालका केन्द्रीय अध्यक्ष केशव नेपालीले चलचित्रले विशेषगरी वादी समुदायका महिलाको सम्मानमाथि गम्भीर चोट पुर्याएको बताए।

“यो चलचित्रले हाम्रो समुदायलाई सामाजिक, मानसिक र शारीरिक रूपमा अपमानित गर्ने सन्देश फैलाएको छ,” उनले भने।

कार्यक्रममा सहभागी एक महिला प्रतिनिधिले भावुक हुँदै प्रश्न उठाइन्, “यदि यस्तो चित्रणका कारण हाम्रो सन्तानले भोलि अपमान सहन नसकेर चरम कदम चाल्छ भने त्यसको जिम्मेवार को हुने?” उनले समुदायको वास्तविक पहिचान सम्मानपूर्वक प्रस्तुत गर्न माग गर्दै यस्ता सामग्री तुरुन्त रोक्नुपर्ने बताइन्।

वादी समुदायका अनुसार उनीहरू परम्परागत रूपमा मादल, ढोल, तबला निर्माण तथा बिक्री, जाल बुन्ने, माछा मार्ने, सुल्पा, चिलिम र टरिया बनाउने जस्ता पेशामा संलग्न रहँदै आत्मनिर्भर जीवनयापन गर्दै आएका छन्। “हाम्रो श्रम र सीपमा आधारित पहिचानलाई गलत रूपमा देखाइनु अन्याय हो,” वक्ताहरूले जोड दिए।
अध्यक्ष नेपालीले चलचित्रका निर्माता–निर्देशकलाई तत्काल माफी माग्दै प्रदर्शन रोक्न आग्रह गरे। “यदि हाम्रो माग बेवास्ता गरियो भने कानुनी कारबाहीसँगै सशक्त आन्दोलनमा उत्रिनेछौं,” उनले चेतावनी दिए।
यसैबीच, ‘लालीबजार’ चलचित्रविरुद्ध उच्च अदालत पाटनमा प्रदर्शन रोक्न माग गर्दै रिट दायर गरिएको जानकारी पनि दिइएको छ।
लुम्बिनी प्रदेश सभा सदस्य शुशिला बादीले समेत चलचित्रले समुदायलाई गलत ढंगले चित्रण गरी बदनाम गर्न खोजिएको आरोप लगाइन्। “समुदायको नाम प्रयोग गरेर आर्थिक लाभ लिन खोजिएको छ, यो अस्वीकार्य छ,” उनले भनिन्।
कार्यक्रमका अन्य वक्ताहरूले पनि चलचित्रको प्रदर्शन तत्काल रोक्न र संलग्न व्यक्तिहरूमाथि आवश्यक कानुनी कारबाही गर्न माग गर्दै यस्ता गतिविधिले समुदायमाथि नकारात्मक असर पार्ने चेतावनी दिएका छन्।

