१७, बैशाख २०८३ बिहीबार
काठमाडौँ – नेपाल एयरलाइन्सले सामाजिक सञ्जालमा सार्वजनिक गरेको उडान नेटवर्क नक्सा विवादमा परेपछि तत्काल पोस्ट हटाउँदै भारतसँग माफी मागेको छ।

एयरलाइन्सले आफ्नो अन्तर्राष्ट्रिय उडान सञ्जाल देखाउने उद्देश्यले सार्वजनिक गरेको नक्सामा भारतीय भूभाग जम्मु–कश्मीरलाई गलत रूपमा पाकिस्तानमा समावेश गरिएको देखिएपछि सामाजिक सञ्जालमा तीव्र आलोचना भएको थियो। विशेषगरी भारतीय प्रयोगकर्ताहरूले उक्त त्रुटिप्रति आपत्ति जनाएपछि विवाद चुलिएको हो।

विवाद बढेपछि नेपाल एयरलाइन्सले औपचारिक रूपमा प्रतिक्रिया दिँदै नक्सामा गम्भीर कार्टोग्राफिक त्रुटि भएको स्वीकार गरेको छ। “हाम्रो सामाजिक सञ्जाल च्यानलहरूमा हालै सार्वजनिक भएको नेटवर्क नक्सामा भएको त्रुटिका लागि हामी हार्दिक माफी चाहन्छौँ,” एयरलाइन्सले जारी गरेको वक्तव्यमा उल्लेख छ।

एयरलाइन्सले उक्त नक्साले नेपाल सरकार वा आफ्नो आधिकारिक धारणा प्रतिबिम्बित नगर्ने स्पष्ट पार्दै भविष्यमा यस्ता संवेदनशील विषयमा थप सावधानी अपनाउने प्रतिबद्धता जनाएको छ।
घटनापछि सम्बन्धित पोस्ट हटाइएको छ भने सामाजिक सञ्जालमा यस विषयले कूटनीतिक संवेदनशीलता र तथ्यपरक प्रस्तुतीकरणको महत्त्वबारे पुनः ध्यानाकर्षण गराएको छ।

