१९, बैशाख २०८२ शनिबार
कोहलपुर, बाँके – चौथो संस्करणको कोहलपुर गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक कोहलपुर रेसिङ साहारा क्लबले शानदार जित हासिल गरेको छ।

शनिबार भएको पहिलो खेलमा साहारा क्लबले पञ्चकोशी युवा क्लब (सुदूरपश्चिम) लाई २–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो।

आयोजक टोलीका लागि पहिलो गोल खेलको २४औँ मिनेटमा डिफेन्डर पेपे (जर्सी नं. १५) ले गरेका थिए। पहिलो हाफ सकिनुअघि ४४औँ मिनेटमा फागुराम चौधरी (जर्सी नं. ११) ले अर्को गोल थप्दै टोलीलाई बलियो अग्रता दिलाए।

दोस्रो हाफमा खेलमा फर्किन प्रयास गरेको पञ्चकोशी युवा क्लबका लागि ८८औँ मिनेटमा कुशाग्र उप्रेतीले एक गोल फर्काए पनि त्यो सान्त्वना गोलमै सीमित रह्यो। बाँकी समयमा थप गोल हुन नसक्दा पञ्चकोशीले पराजय बेहोर्नुपर्यो।

कोहलपुर नगरपालिका–२ स्थित तेह्र बिघा मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन नगरप्रमुख पूर्ण आचार्यले गरेका हुन्। वैशाख १९ देखि २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका विभिन्न प्रतिष्ठित क्लब तथा एक विदेशी टोलीसहित ८ टिमको सहभागिता रहेको छ।

प्रतियोगितामा आयोजक साहारा क्लबसहित पञ्चकोशी युवा क्लब, लालीगुराँस क्लब, सातदोबाटो युवा क्लब, जस्ट जोन एफसी (नाइजेरिया), रोयल फुटबल क्लब, राइजिङ स्टार क्लब र नेपाल पुलिस क्लब सहभागी छन्।

प्रतियोगिताको विजेताले नगद ८ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।

