१५, बैशाख २०८३ मगंलवार
बाँके,नेपालगञ्ज – नेपालगञ्ज शहरमै अहिलेसम्मकै ठूलो धनराशीको भेट्रान फुटसल प्रतियोगिता भव्य रूपमा सुरु भएको छ।
एफसी संघारीको आयोजनामा सुरु भएको प्रतियोगितामा बाँके, बर्दिया र दाङका गरी १८ टोली सहभागी भएका छन्, जसले प्रतियोगितालाई सुरुवातदेखि नै प्रतिस्पर्धात्मक बनाएको छ।

प्रतियोगिताको उद्घाटन नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, प्रहरी प्रमुख (एसपी) अंगुर जिसी, वडा नं. २० का अध्यक्ष कौशलकुमार धोवी तथा क्लबका अध्यक्ष विक्रम पाण्डेले संयुक्त रूपमा रेफ्री श्याम खड्कालाई बल हस्तान्तरण गर्दै गरेका थिए।

उद्घाटन खेलमै गोलको वर्षा भएको छ। बैकर्स एण्ड ब्रदर्सले प्रभावशाली प्रदर्शन गर्दै प्याव्सनलाई १५–२ को फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा बलियो उपस्थितिको संकेत दिएको छ।

त्यसैगरी, खजुरा ब्रदर्स एफसीले नेपालगन्ज–११ लाई ३–२ ले हराउँदा नेपाली सेनाको बज्रदलले इन्सुरेन्स टिममाथि १३–१ को एकतर्फी जित निकाल्दै आफ्नो दबदबा देखाएको छ।
अन्य खेलहरूमा कोहलपुर फुटसलले सन्जिवीनी कलेजलाई ७–१ ले पराजित गर्यो भने बर्दियाको नवयुवा क्लबले एपीएफ ३० नम्बर गणलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले हरायो। निर्धारित समयमा दुवै टोली ३–३ को बराबरीमा रोकिएका थिए, जसले खेललाई थप रोमाञ्चक बनाएको थियो।

३५ वर्षभन्दा माथिका खेलाडीहरू सहभागी रहेको प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले २५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र हात पार्नेछन्।
प्रतियोगितामा नेपालगन्जका समाजसेवी तथा विदेशमा बसोबास गर्दै आएका राजा खानको आर्थिक सहयोगसमेत रहेको आयोजकले जनाएको छ।

आदर्शनगरस्थित बागेश्वरी फुटसलमा जारी प्रतियोगिताले खेलप्रेमीहरूमा उत्साह थपेको छ भने आगामी दिनहरूमा अझै कडा र रोमाञ्चक प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।

