०३, बैशाख २०८३ बिहीबार
बाँके, नेपालगञ्ज- नेपालगञ्ज उप–महानगरपालिका–५ को आयोजनामा दोस्रो अन्तर वडा स्तरीय टेनिस क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ। यही महिनाको ६ गतेदेखि सुरु हुने प्रतियोगिता लगातार १५ दिनसम्म चल्ने आयोजकले जानकारी दिएको छ। प्रतियोगितामा ३० भन्दा बढी टोलीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
![]()
प्रतियोगिता सञ्चालनका लागि करिब ३ लाख ५० हजार रुपैयाँको बजेट निर्धारण गरिएको छ। जसअन्तर्गत वडा नम्बर ५ ले करिब २ लाख रुपैयाँ व्यहोर्नेछ भने बाँकी १ लाख ५० हजार रुपैयाँ नेपालगञ्ज उप–महानगरपालिकाले सहयोग गरेको छ। साथै, विभिन्न सहयोगी व्यक्ति तथा संस्थाहरूको समेत सहकार्य रहनेछ। प्रतियोगितालाई सफल बनाउन स्थानीय रूपमा सक्रिय रोयल स्पोर्ट क्लबले पनि महत्वपूर्ण भूमिका खेल्ने जनाएको छ।
![]()
युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्ने तथा उनीहरूलाई सकारात्मक र सिर्जनशील गतिविधिमा संलग्न गराउने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको हो। पछिल्लो समय युवाहरू विभिन्न विकृतितर्फ आकर्षित हुने जोखिम बढिरहेका बेला यस्ता खेलकुद कार्यक्रमले अनुशासन, स्वास्थ्य र जिम्मेवारीबोध विकासमा टेवा पुग्ने विश्वास लिइएको छ।

वडा अध्यक्ष शराफत हुसैन शेषले खेलकुदमार्फत समाजमा सकारात्मक परिवर्तन सम्भव रहेको धारणा व्यक्त गर्नुभयो। उहाँले युवाहरूलाई खेलकुदमा सक्रिय बनाउनु अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै यस प्रतियोगिताले स्थानीय खेलकुद क्षेत्रलाई थप चलायमान बनाउने विश्वास व्यक्त गर्नुभयो। साथै, स्थानीय खेलाडीहरूको प्रतिभा निखार्ने, अवसर प्रदान गर्ने र भविष्यमा ठूला प्रतियोगितामा प्रतिस्पर्धा गर्न सक्षम बनाउने आधार तयार हुने अपेक्षा गरिएको छ।

