२८, चैत २०८२ शनिबार
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा पठाएका छन्। प्रधानमन्त्री शाहले उक्त निम्तो स्वीकार गर्दै छिट्टै भारत भ्रमणमा जाने तयारी थालेका छन्।

परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार प्रस्तावित भ्रमणले नेपाल–भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ। “प्रधानमन्त्रीज्यूले भारत भ्रमणको निम्तो स्वीकार गरिसक्नुभएको छ,” मन्त्री खनालले सञ्चारकर्मीसँग भने, “दुई देशबीचको सम्बन्धलाई आधुनिक, परिणाममुखी र थप प्रभावकारी बनाउने दिशामा यो भ्रमण कोसेढुङ्गा सावित हुनेछ।”

भ्रमणका क्रममा द्विपक्षीय भेटवार्ता, विकास सहकार्य, आर्थिक साझेदारी र प्राविधिक सहयोग विस्तारका विषयमा महत्वपूर्ण छलफल हुने अपेक्षा गरिएको छ। साथै, विभिन्न परियोजनाहरूमा सहकार्य बढाउने विषयमा नयाँ समझदारी हुन सक्ने बताइएको छ।
प्रधानमन्त्री बनेपछि बालेन शाहको यो पहिलो औपचारिक वैदेशिक भ्रमण हुने भएकाले यसलाई दक्षिण एसियाली राजनीतिमा चासोका साथ हेरिएको छ। नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने अवसरका रूपमा समेत यस भ्रमणलाई लिइएको छ।

