भर्खरै, समाचार, समाचार

डुडुवा गाउँपालिकाको सहयोगमा पत्रकार महासंघ बाँकेमा अत्याधुनिक ‘डुडुवा सभा हल’ उद्घाटन

२६, चैत २०८२ बिहिवार 

बाँके, नेपालगञ्ज — नेपाल पत्रकार महासंघ बाँके शाखामा डुडुवा गाउँपालिकाको १० लाख रुपैयाँ आर्थिक सहयोगमा निर्माण गरिएको ‘डुडुवा सभा हल’ भव्य रूपमा उद्घाटन गरिएको छ। गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरी (पप्पु)ले शिलालेख अनावरण तथा रिबन काटेर सभा हलको उद्घाटन गर्नुभयो।

नेपालगञ्ज–४ सञ्चारग्राम (बसपार्क)स्थित महासंघको भवनको दोस्रो तलामा निर्माण गरिएको उक्त सभा हल शाखा अध्यक्ष नवीन गिरीका अनुसार गाउँपालिकाको सहयोगमा सम्पन्न भएको हो। महासंघको भवन भने नेपालगञ्ज उपमहानगरपालिकाले उपलब्ध गराएको जग्गामा विभिन्न निकायको सहकार्यमा निर्माण गरिएको हो।

नव वर्ष २०८३ को पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा सभा हल उद्घाटनसँगै भित्तेपात्रो विमोचन तथा शुभकामना आदान–प्रदान कार्यक्रम समेत सम्पन्न गरिएको थियो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले स्थानीय मिडियाको संरक्षण, प्रवर्द्धन र सुदृढीकरणमा गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले लोकतन्त्रमा मिडियालाई ‘वाचडग’को रूपमा उल्लेख गर्दै मिडियाले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो। मिडियासँग सहकार्य र समन्वय गर्दै अघि बढ्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।

Advertisement

कार्यक्रमका विशिष्ट अतिथि तथा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईंले सरकारद्वारा निजी मिडियामाथि नियन्त्रण गर्ने प्रयासप्रति चिन्ता व्यक्त गर्दै पत्रकारहरू एकजुट हुनुपर्नेमा जोड दिनुभयो।

शाखा अध्यक्ष गिरीले महासंघको अगुवाइमा डुडुवा, राप्तीसोनारी र बैजनाथ गाउँपालिकामा चालु आर्थिक वर्षभित्र सञ्चार नीति निर्माणको प्रक्रिया अघि बढिरहेको जानकारी दिनुभयो। साथै, सभा हल निर्माणमा सहयोग पुर्‍याएकोमा डुडुवा गाउँपालिकालाई धन्यवाद दिँदै आगामी दिनमा सहकार्य अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो।

Advertisement

कार्यक्रममा प्रदेश सचिव गोविन्द शर्मा, पूर्व अध्यक्षहरू झलक गैरे र रुद्र सुवेदी, प्रेस युनियन बाँके अध्यक्ष प्रियास्मृति ढकाल, समाजवादी प्रेस संगठन अध्यक्ष लोकनाथ शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। विभिन्न पत्रकार तथा संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0