२३, चैत २०८२ सोमबार
बाँके, नेपालगञ्ज – लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेले बलात्कारपछि हत्या जस्ता जघन्य अपराधमा संलग्न दोषीलाई मृत्युदण्डको व्यवस्था गर्नुपर्ने माग गरेकी छन्। उनले यस्तो सजायको माग गर्दा मानव अधिकारका सवालहरू पनि उठ्न सक्ने स्वीकार गर्दै, समाजमा बढ्दो यस्ता अपराधलाई नियन्त्रण गर्न कडा कानुन अपरिहार्य भएको बताइन्।

सोमबार लुम्बिनी प्रदेश सभाको सातौँ अधिवेशनको छैटौँ बैठकमा बोल्दै काफ्लेले देशभर भइरहेका गम्भीर अपराधहरू न्यूनीकरण गर्न र विशेषगरी बालिकाहरूको सुरक्षा सुनिश्चित गर्न कठोर कानुनी प्रावधान आवश्यक रहेको धारणा राखिन्।
उनले सुर्खेत र बाँके लगायत विभिन्न स्थानमा भएका पछिल्ला बलात्कारपछि हत्या घटनाहरूलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै यस्ता अपराधीलाई संरक्षण गर्नु कसैका लागि पनि हितकर नहुने स्पष्ट पारिन्। अपराधीलाई कडा सजाय नदिँदा समाजमा दण्डहीनता बढ्ने र अपराध झनै प्रोत्साहित हुनेतर्फ उनले ध्यानाकर्षण गराइन्।
काफ्लेले सरकारलाई कानुन संशोधनमार्फत यस्ता जघन्य अपराध विरुद्ध कडा कदम चाल्न आग्रह गर्दै सुरक्षित समाज निर्माणमा राज्य गम्भीर बन्नुपर्नेमा जोड दिइन्।

