२३, चैत २०८२ सोमबार
बाँके, नेपालगन्ज — बाँके क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री इस्तियाक राई ले नेपालगन्जमा सामाजिक सद्भाव र भाईचारा बिगार्न खोज्ने तत्वहरूको पहिचान गरी निरुत्साहित गर्न सरकारसँग माग गर्नुभएको छ।

सोमबार प्रधानमन्त्री बालेन्द्र शाह सँगको भेटमा सांसद राईले बाँके जिल्लासहित नेपालगन्ज क्षेत्रमा दृश्य तथा अदृश्य रूपमा सक्रिय रहेका विभाजनकारी तत्वप्रति गम्भीर ध्यानाकर्षण गराउनुभएको हो।
राईका अनुसार, “समाजको परस्पर सम्बन्धमा दरार ल्याउने र विभाजनलाई बढावा दिने गतिविधि अहिले ठूलो चुनौतीका रूपमा देखा परेको छ।” उहाँले वर्षौँदेखि विविधतायुक्त समाजले कायम राख्दै आएको सद्भाव, एकता र सहअस्तित्वलाई जोगाउन आवश्यक पहल गर्न सरकारलाई आग्रह गर्नुभयो।

उहाँले शिक्षा, प्रविधि र भौतिक विकासका क्षेत्रमा प्रगति भए पनि समाजमा सहिष्णुता, सद्भाव र एकता अभाव भए ती उपलब्धिहरूको अर्थ नहुने उल्लेख गर्नुभयो।
राईले नेपालगन्जका विभिन्न धर्म र समुदायबीच आपसी सम्मान, सहकार्य र संस्कारयुक्त व्यवहारलाई अझ सुदृढ बनाउँदै समाजलाई पुनः एकताबद्ध गर्न आवश्यक रहेको बताउनुभयो। साथै, हरेक घटनालाई धार्मिक रंग दिई समाजमा फाटो ल्याउन खोज्ने तत्वहरूको पहिचान र नियन्त्रण गर्न सरकार सक्रिय हुनुपर्नेमा जोड दिनुभयो।
उहाँले सामाजिक एकता प्रवर्द्धन गर्ने कार्यक्रमहरू प्रभावकारी रूपमा अघि बढाउन प्रधानमन्त्रीसमक्ष आग्रहसमेत गर्नुभएको छ।

